साउन महिनाको पहिलो सोमबार हिन्दु धर्मावलम्बीका लागि विशेष आस्थाको दिन हो। भगवान शिवप्रतिको श्रद्धा प्रकट गर्न देशभरका शिवालयमा बिहानैदेखि भक्तजनको उल्लेख्य भीड देखिनु नेपाली समाजमा धार्मिक संस्कार र परम्परा अझै बलियो रहेको प्रमाण हो। पशुपतिनाथ मन्दिरमा बिहान ३ बजेदेखि नै दर्शनका लागि ढोका खुलाइनु र वर्षाको प्रवाह नगरी श्रद्धालुहरूको उपस्थिति हुनु आस्थाको सशक्त अभिव्यक्ति हो।
यस वर्ष पनि पशुपति क्षेत्र विकास कोष, सुरक्षा निकाय तथा स्वयंसेवी संस्थाहरूले दर्शनलाई सहज, सुरक्षित र व्यवस्थित बनाउन विशेष तयारी गरेका छन्। लाखौँ भक्तजनको व्यवस्थापन सामान्य काम होइन। भीड नियन्त्रण, स्वास्थ्य सेवा, ट्राफिक व्यवस्थापन र सुरक्षा समन्वयमा सम्बन्धित निकायको सक्रियता सकारात्मक पक्ष हो।

तर, कोषले नै पदाधिकारी नियुक्तिमा ढिलाइ र जनशक्ति अभावका कारण आवश्यकताअनुसार काम गर्न नसकिएको स्वीकार गर्नु चिन्ताको विषय हो। देशकै प्रमुख धार्मिक सम्पदाको व्यवस्थापनमा यस्ता कमजोरी दोहोरिनु हुँदैन। प्रत्येक वर्ष साउने सोमबारमा ठूलो भीड लाग्ने निश्चित हुँदाहुँदै पूर्वतयारी र संस्थागत क्षमता पर्याप्त हुन नसक्नु सुधार गर्नुपर्ने पक्ष हो।
धार्मिक आस्था केवल मन्दिर पुगेर पूजा गर्ने विषय मात्र होइन। मन्दिर परिसरको सरसफाइ, अनुशासित लाइन, वातावरण संरक्षण र अरू भक्तजनप्रति सम्मानजनक व्यवहार पनि उत्तिकै महत्वपूर्ण छन्। श्रद्धालु स्वयंले पनि जिम्मेवार आचरण अपनाए मात्र धार्मिक स्थलको गरिमा कायम रहन्छ।
साउने सोमबारले नेपाली समाजको धार्मिक, सांस्कृतिक र सामाजिक एकतालाई बलियो बनाउने अवसर प्रदान गर्छ। यस अवसरलाई अझ व्यवस्थित, सुरक्षित र मर्यादित बनाउन सम्बन्धित निकायले दीर्घकालीन योजना बनाउनुपर्ने आवश्यकता छ। आस्था र व्यवस्थापनबीच सन्तुलन कायम गर्न सके मात्र पशुपतिनाथलगायत देशभरका शिवालयमा आउने लाखौँ भक्तजनले सहज र सम्मानजनक रूपमा दर्शन गर्न सक्नेछन्।

