नेपाली कांग्रेसको संस्थापन र संस्थापनइतर पक्षबीच लामो समयदेखि चलिरहेको शक्ति संघर्ष अन्ततः पार्टी विभाजनको संघारमा पुगेको देखिन्छ। सहमतिका सबै प्रयास निष्कर्षविहीन बनेपछि दुवै पक्ष आ–आफ्नो बाटोमा अघि बढ्न तयार देखिएका छन्। यदि यो प्रक्रिया औपचारिक रूपमा टुंगियो भने नेपालको सबैभन्दा पुरानो लोकतान्त्रिक दलले फेरि एकपटक विभाजनको पीडा व्यहोर्नुपर्नेछ।
राजनीतिक दलभित्र विचारको बहस, नेतृत्वको प्रतिस्पर्धा र मतभिन्नता स्वाभाविक हुन्। तर ती मतभिन्नतालाई संवाद, सहमति र लोकतान्त्रिक प्रक्रियाबाट समाधान गर्न नसक्नु नेतृत्वको कमजोरी हो। कांग्रेसभित्रको विवाद केवल व्यक्तिको शक्ति र पदको लडाइँमा सीमित भएको जनधारणा बलियो बन्दै गएको छ। यसले पार्टीको वैचारिक आधार, संगठन र जनविश्वासलाई कमजोर बनाउने जोखिम बढाएको छ।

विभाजनको प्रत्यक्ष असर कांग्रेसभित्र मात्र सीमित रहने छैन। संघ र प्रदेशको सत्ता समीकरण, वर्तमान गठबन्धनको भविष्य तथा समग्र राष्ट्रिय राजनीतिमा यसको प्रभाव पर्ने निश्चित छ। संसद्को शक्ति सन्तुलन बदलिन सक्छ, प्रदेश सरकारहरू फेरबदल हुन सक्छन् र नयाँ राजनीतिक समीकरणको खोजी सुरु हुन सक्छ। यसले राजनीतिक अस्थिरताको अर्को चरण निम्त्याउने सम्भावना पनि बढाएको छ।
इतर पक्षले आफ्ना मागलाई पार्टीभित्र लोकतान्त्रिक अभ्यास पुनर्स्थापना गर्ने प्रयासका रूपमा व्याख्या गरेको छ भने संस्थापन पक्षले ती माग विधानविपरीत र असम्भव भएको दाबी गरेको छ। दुवै पक्षका आ–आफ्नै तर्क हुन सक्छन्, तर अन्तिम मूल्याङ्कन इतिहास र जनताले गर्नेछन्। राजनीतिक दलको शक्ति अन्ततः संगठन, कार्यकर्ता र जनविश्वासमै टिकेको हुन्छ, विभाजनमा होइन।
नेपालको लोकतान्त्रिक आन्दोलनमा कांग्रेसको ऐतिहासिक योगदानलाई कसैले अस्वीकार गर्न सक्दैन। त्यसैले यस्तो दल बारम्बार आन्तरिक कलहको सिकार बन्नु लोकतन्त्रकै लागि सुखद संकेत होइन। व्यक्तिगत महत्वाकांक्षा र गुटीय प्रतिस्पर्धाभन्दा माथि उठेर संस्थागत संस्कृतिलाई बलियो बनाउनु आजको आवश्यकता हो।
यदि विभाजन अपरिहार्य भइसकेको हो भने पनि दुवै पक्षले राजनीतिक मर्यादा, लोकतान्त्रिक मूल्य र स्वस्थ प्रतिस्पर्धालाई कायम राख्नुपर्छ। तर यदि संवादको कुनै सानो ढोका अझै खुला छ भने त्यसलाई बन्द गर्नु बुद्धिमानी हुनेछैन। किनभने विभाजनले क्षणिक राजनीतिक लाभ दिलाए पनि दीर्घकालमा पार्टी, कार्यकर्ता र मुलुकले त्यसको मूल्य चुकाउनुपर्ने इतिहासले पटक–पटक देखाइसकेको छ।

