नेपालमा सडक पूर्वाधार विकासको इतिहासमा नागढुंगा–सिस्नेखोला सुरुङमार्ग सञ्चालनमा आउनु एउटा महत्वपूर्ण उपलब्धि हो। वर्षौँदेखि नेपाली जनताले देख्दै आएको सुरुङमार्गमा सवारीसाधन गुडाउने सपना अब व्यवहारमै पूरा भएको छ। सन् २०१९ नोभेम्बर १४ मा निर्माण सुरु भएको नागढुंगा सुरुङमार्ग सञ्चालनमा आएसँगै नेपाल सडक यातायातको नयाँ चरणमा प्रवेश गरेको छ।

काठमाडौं उपत्यका प्रवेश गर्ने प्रमुख नाका नागढुंगा–नौबिसे सडकखण्ड लामो समयदेखि अत्यधिक सवारी चाप, घण्टौँको जाम, उकालो–ओरालो र घुमाउरो बाटोका कारण यात्रु तथा यातायात व्यवसायीका लागि सास्तीको पर्याय बन्दै आएको थियो। अब सुरुङमार्ग सञ्चालनमा आएपछि यो समस्यामा उल्लेख्य सुधार आउने अपेक्षा गरिएको छ। दूरी छोटिने, यात्रा समय घट्ने र इन्धनको बचत हुने भएकाले यसको प्रत्यक्ष लाभ सर्वसाधारणदेखि व्यवसायीसम्मले पाउनेछन्।

करिब २.६८८ किलोमिटर लामो मुख्य सुरुङसँगै आकस्मिक उद्धारका लागि छुट्टै सुरुङ निर्माण गरिएको छ। फ्लाइओभर, पुल, अन्डरपास, ओभरपास तथा अन्य सहायक संरचनासहित निर्माण गरिएको यो आयोजना नेपालको आधुनिक पूर्वाधार विकासको एउटा महत्वपूर्ण नमुना हो। प्रारम्भिक लागतभन्दा आयोजना महँगो भए पनि दीर्घकालीन दृष्टिले यसको उपयोगिता र आर्थिक प्रतिफललाई हेर्न आवश्यक छ।

तर सुरुङमार्ग सञ्चालनमा आउनु आफैँमा उपलब्धिको अन्तिम बिन्दु भने होइन। यसको सुरक्षित, प्रभावकारी र दीर्घकालीन सञ्चालन अबको मुख्य चुनौती हो। सुरुङभित्र एकैपटक ठूलो संख्यामा सवारीसाधन सञ्चालन गर्दा सुरक्षा जोखिम बढ्न सक्छ। त्यसैले सवारीको वर्गीकरण, गति नियन्त्रण, आपत्कालीन उद्धार प्रणाली, आगलागी नियन्त्रण, नियमित मर्मतसम्भार तथा दक्ष जनशक्तिको व्यवस्थापनमा सरकारले विशेष ध्यान दिनुपर्छ।

सुरुङमार्गको प्रयोगबापत निर्धारण गरिएको शुल्कका विषयमा पनि सरकारले यातायात व्यवसायी तथा सरोकारवालासँग पर्याप्त संवाद गर्न आवश्यक छ। शुल्क निर्धारण गर्दा आयोजनाको सञ्चालन खर्च उठाउने मात्र नभई आम नागरिक र व्यवसायीलाई सहज हुने पक्षलाई पनि ध्यान दिनुपर्छ। सुरुङमार्गका कारण बचत हुने समय र इन्धनको लाभ आम यात्रुले महसुस गर्न सक्ने गरी शुल्क नीति व्यवहारिक हुनुपर्छ।

नेपालको भौगोलिक बनोट सुरुङमार्ग विकासका लागि चुनौतीपूर्ण भए पनि यही कारण यसको आवश्यकता अझ बढी छ। पहाडी भूभाग, कमजोर सडक, पहिरोको जोखिम र कठिन भौगोलिक अवस्थाका कारण धेरै ठाउँमा सुरुङमार्ग सडक निर्माणको प्रभावकारी विकल्प बन्न सक्छ। जलविद्युत्, खानेपानी, सिँचाइ र सडक क्षेत्रमा नेपालले लामो समयदेखि सुरुङ प्रविधिको प्रयोग गर्दै आएको छ। अब त्यसलाई आधुनिक, सुरक्षित र व्यवस्थित सडक पूर्वाधारसँग जोड्ने समय आएको छ।

नागढुंगा सुरुङमार्गले एउटा महत्वपूर्ण सम्भावनाको ढोका खोलेको छ। सिद्धबाबा सुरुङमार्ग, काठमाडौं–तराई–मधेस द्रुतमार्ग तथा अन्य प्रस्तावित सुरुङ आयोजनाहरू समयमै सम्पन्न गर्न सके नेपालले यातायात पूर्वाधारमा नयाँ फड्को मार्न सक्छ। तर सुरुङ निर्माणलाई केवल विकासको राजनीतिक नाराका रूपमा नभई दीर्घकालीन राष्ट्रिय पूर्वाधार रणनीतिको हिस्सा बनाउनुपर्छ।

नेपालमा सुरुङ निर्माणसम्बन्धी ज्ञान, प्रविधि र जनशक्तिको विकास पनि क्रमशः भइरहेको छ। यसलाई अवसरका रूपमा उपयोग गर्दै विदेशी प्रविधि र लगानीमा मात्र निर्भर रहने अवस्थाबाट विस्तारै स्वदेशी दक्षता र क्षमतातर्फ अघि बढ्नुपर्छ। सुरुङ निर्माणमा नेपाली प्राविधिक, इन्जिनियर र निर्माण कम्पनीको क्षमता बढाउन सके यस क्षेत्रमा रोजगारी र नयाँ आर्थिक सम्भावनासमेत सिर्जना हुन सक्छ।

नागढुंगा सुरुङमार्ग नेपालको विकास यात्रामा एउटा सुरुवात हो। अबको लक्ष्य एउटा सुरुङ सञ्चालनमा ल्याएर रोकिने होइन, आवश्यकता र सम्भाव्यताका आधारमा देशका विभिन्न क्षेत्रमा सुरुङ पूर्वाधारको योजनाबद्ध विकास गर्नु हो। सुरुङमार्गले मात्र समृद्धि ल्याउँदैन, तर यसले यात्रा छोट्याउन, लागत घटाउन, व्यापार सहज बनाउन र दुर्गम भूगोललाई जोड्न महत्वपूर्ण योगदान दिन सक्छ।

त्यसैले नागढुंगा सुरुङमार्गको सफल सञ्चालनसँगै नेपालले सुरुङमार्ग निर्माणको नयाँ युगलाई सुरक्षित, दिगो र व्यवस्थित ढंगले अघि बढाउनुपर्छ। आज एउटा सुरुङमा सवारी गुडेको छ; अबको आवश्यकता भनेको त्यसलाई नेपालको समग्र पूर्वाधार रूपान्तरणको आधार बनाउनु हो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय