नारायणगढ (चितवन) । त्रिशूली तथा नारायणी नदी किनारमा फेला परेका पहिचान हुन नसकेका शवलाई भविष्यमा आफन्तले पहिचान गर्न सक्ने गरी वैज्ञानिक विधिअनुसार चितवनको भरतपुर–१ स्थित देवघाट जङ्गलमा जमिनमुनि सुरक्षित रूपमा व्यवस्थापन गर्न थालिएको छ।
रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण बगेर आएका शवलाई लामो समयसम्म सुरक्षित राख्न कठिन भएपछि रेडक्रसको अन्तर्राष्ट्रिय समिति (आईसीआरसी) को मापदण्डअनुसार शव व्यवस्थापन सुरु गरिएको हो।

चितवनको फिस्लिङदेखि गोलाघाटसम्मको नदी तटमा हालसम्म २५९ शव फेला परेका छन्। तीमध्ये नौ जनाको पहिचान भई आफन्तलाई बुझाइसकिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
शनिबार पहिचान हुन नसकेका ९६ शवमध्ये पहिलो चरणमा डीएनए परीक्षणका लागि नमुना सङ्कलन गरिएका २६ शवलाई देवघाटमा जमिनमुनि व्यवस्थापन गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एवं प्रहरी उपरीक्षक रामेश्वर पौडेलले जानकारी दिनुभयो। बाँकी शवको पनि डीएनए नमुना सङ्कलन गरी क्रमशः देवघाटमा सुरक्षित व्यवस्थापन गरिने उहाँले बताउनुभयो।
प्रत्येक शवलाई करिब १.५ मिटर गहिरो खाडलमा छुट्टाछुट्टै राखिने र एक शवदेखि अर्को शवबीच ४० सेन्टिमिटर दूरी कायम गरिने व्यवस्था गरिएको छ। भविष्यमा डीएनए परीक्षणबाट पहिचान खुलेमा सहजै शव निकाल्न सकिने गरी व्यवस्थापन गरिएको प्रहरी उपरीक्षक पौडेलले बताउनुभयो।
प्रत्येक शवको हात वा खुट्टामा नष्ट नहुने सङ्केत ट्याग बाँधिएको छ। शव व्यवस्थापनपछि त्यसको माथि देखिने गरी स्ट्यान्ड राखेर सामान्य कङ्क्रिट ढलान गरिने र सोही स्ट्यान्डमा सम्बन्धित कोड नम्बर उल्लेख गरिनेछ।
भरतपुर अस्पतालका फरेन्सिक विज्ञ डा. कश्यप श्रेष्ठका अनुसार नदीमा लामो समय रहेका कारण शव सड्ने तथा बाह्य स्वरूपबाट पहिचान गर्न कठिन हुने भएकाले डीएनए परीक्षणका लागि आवश्यक जैविक नमुना सङ्कलन गरिएको हो। डेन्टल टोलीले विशेषगरी पछाडिका मोलार दाँतबाट डीएनए नमुना सङ्कलन गरिरहेको उहाँले जानकारी दिनुभयो।
प्रत्येक शवको ट्याग कोडअनुसार डीएनए नमुना सुरक्षित राखिएको छ। भविष्यमा आफन्तबाट प्राप्त नमुनासँग मिलान गरी शवको पहिचान गर्न सकिने गरी आवश्यक अन्य जैविक नमुनासमेत सङ्कलन गरिएको डा. श्रेष्ठले बताउनुभयो।
भरतपुर अस्पतालका प्रवक्ता डा. रामप्रसाद सापकोटाका अनुसार शव व्यवस्थापन तथा पहिचानका लागि फरेन्सिक विज्ञ, चिकित्सक, स्वास्थ्यकर्मी तथा अन्य कर्मचारी परिचालन गरिएको छ। ठूलो सङ्ख्यामा शव एकैपटक ल्याइएकाले व्यवस्थापनमा चुनौती भए पनि स्वास्थ्यकर्मी तथा विभिन्न सुरक्षा निकायको समन्वयमा काम भइरहेको उहाँले बताउनुभयो।
शवबाट सम्भावित रोग फैलिन नदिन आवश्यक सतर्कता अपनाइएको अस्पतालले जनाएको छ। शव व्यवस्थापन तथा पहिचानको कार्यमा जिल्ला सुरक्षा निकाय, स्वयंसेवक तथा विभिन्न सङ्घसंस्थाले समेत सहयोग गरिरहेका छन्।

