काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले रसुवास्थित भोटेकोशी नदीमा गएको बाढीपहिरोबाट ठूलो मानवीय तथा भौतिक क्षति भएकाले विपद्पछिको पुनर्स्थापना र पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय सहयोग आवश्यक पर्ने बताउनुभएको छ।

परराष्ट्र मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री खनालले बाढीबाट प्रभावित क्षेत्रका लागि अन्तर्राष्ट्रिय सहयोग अपरिहार्य रहेको बताउनुभयो। उहाँका अनुसार अहिले सरकारको पहिलो प्राथमिकता बाढीमा परेका स्वदेशी तथा विदेशी नागरिकको उद्धार र जीवनरक्षा गर्नु हो।

‘बाढीले यहाँ ठूलो संख्यामा मानवीय र भौतिक संरचनामा क्षति पुर्‍याएको छ,’ उहाँले भन्नुभयो, ‘अहिलेसम्म हामीले बाढीमा परेकाका स्वदेशी तथा विदेशी नागरिकको उद्धारलाई पहिलो प्राथमिकतामा राखेर काम गर्दै आइरहेका छौँ।’

मन्त्री खनालले विपद्को निश्चित चरण हुने भएकाले अहिले उद्धारलाई प्राथमिकता दिइएको र त्यसपछि राहत, पुनर्स्थापना तथा पुनर्निर्माणको चरणमा सरकार प्रवेश गर्ने बताउनुभयो। उहाँका अनुसार हाल प्रभावितलाई विद्यालय तथा अन्य सामुदायिक स्थानमा अस्थायी रूपमा राखिएको छ।

‘उद्धारपछि सरकार छिट्टै राहतको चरणमा प्रवेश गर्नेछौँ, जहाँ मानिसलाई अस्थायी बसोबासको अवसर प्रदान गर्नुपर्ने हुन्छ र तेस्रो चरणमा हामी पुनःस्थापना र पुनर्निर्माणमा लाग्नेछौँ,’ उहाँले भन्नुभयो।

मन्त्री खनालले छिमेकी राष्ट्रहरूसँग सुरुङ उद्धार तथा फरेन्सिकलगायत क्षेत्रमा सहयोग मागिएको जानकारी दिनुभयो।

दाता सम्मेलनबारे तत्काल निर्णय छैन
परराष्ट्रमन्त्री खनालले सरकारले दाता सम्मेलन आयोजना गर्ने विषयमा अहिलेसम्म कुनै निर्णय नगरेको स्पष्ट पार्नुभयो। अहिले आपत्कालीन उद्धारमा सरकारको ध्यान केन्द्रित भएकाले दाता सम्मेलनको समयसीमा तोक्न कठिन रहेको उहाँको भनाइ छ।

‘अहिलेको आपतकालीन स्थिति र विपद्को प्रकृतिलाई हेर्दा तुरुन्तै दाता सम्मेलनको कुनै समयसीमा दिन गाह्रो छ, किनकि अहिले हाम्रो ध्यान उद्धारमा बढी केन्द्रित छ,’ उहाँले भन्नुभयो।

उहाँले जतिसक्दो चाँडो बाढीबाट भएको क्षति तथा नोक्सानको मूल्यांकन तयार पारिने बताउनुभयो। दाता सम्मेलनका विषयमा परराष्ट्र मन्त्रालय र अर्थ मन्त्रालयबीच आवश्यक समन्वय गरी निर्णय लिइने उहाँले जानकारी दिनुभयो।

प्रमुख पर्यटकीय गन्तव्य सुरक्षित
मन्त्री खनालले भोटेकोशी बाढीको प्रभाव नेपालका सीमित जिल्लामा मात्रै परेको बताउँदै काठमाडौं, पोखरा, लुम्बिनी, चितवन र सगरमाथालगायत प्रमुख पर्यटकीय गन्तव्य सुरक्षित र खुला रहेको जानकारी दिनुभयो।

उहाँले अन्तर्राष्ट्रिय समुदायलाई नेपाल भ्रमणका लागि सुरक्षित रहेको सन्देश प्रवाह गर्नसमेत आग्रह गर्नुभयो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय