काठमाडौँ । हदबन्दी छुटमा प्राप्त सरकारी जग्गा गैरकानुनी रूपमा सट्टापट्टा तथा बिक्री गर्न अनुमति दिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसहित ९७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

आयोगले मोरङस्थित रिजाल क्यानिङ एण्ड कम्पनीको नाममा रहेको हदबन्दी छुटअन्तर्गतको सरकारी सार्वजनिक जग्गा बदनियतपूर्वक सट्टापट्टा तथा बिक्री गर्न छुट दिएको आरोपमा सोमबार विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गरेको हो।

यस प्रकरणमा आयोगले ७३ करोड ४९ लाख ५६ हजार रुपैयाँ बिगो कायम गरेको छ। भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिम उक्त रकम पूर्वप्रधानमन्त्री नेपालसहितका प्रतिवादीबाट असुलउपर गर्न मागदाबी गरिएको आयोगका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए।

मुद्दा दायर गरिएका अन्य प्रतिवादीमा तत्कालीन संघीय मामिला, संविधानसभा, संसदीय व्यवस्था तथा संस्कृतिमन्त्री डा. मीनेन्द्रप्रसाद रिजाल, भूमिसुधार तथा व्यवस्था मन्त्रालयका तत्कालीन सचिव छविराज पन्त, सहसचिव रमेशचन्द्र अधिकारी तथा उपसचिवद्वय गान्धीप्रसाद सुवेदी र हुपेन्द्रमणि केसी रहेका छन्।

त्यसैगरी, तत्कालीन भूमिसुधार तथा व्यवस्थामन्त्री डम्बर श्रेष्ठ र तत्कालीन मुख्यसचिव माधवप्रसाद घिमिरेलाई आयोगले बिगो असुलउपर गर्ने प्रयोजनका लागि मात्र प्रतिवादी बनाएको जनाएको छ।

आयोगले विवादित जग्गा जफत गर्नसमेत मागदाबी गरेको छ। भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ४७ तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा २९ख लगायत प्रचलित कानुनी व्यवस्थाका आधारमा जग्गा जफतको माग गरिएको हो।

जग्गा जफत गर्ने प्रयोजनका लागि समेत केही व्यक्तिलाई प्रतिवादी बनाइएको आयोगले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय