काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटमा लुम्बिनी लायन्सले पोखरा एभेन्जर्सलाई ८ विकेटले पराजित गरेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा मंगलबार साँझ सम्पन्न खेलमा लुम्बिनीले ९८ रनको लक्ष्य ११.४ ओभरमै पूरा गर्दै सानदार जित निकालेको हो।
पोखराले प्रस्तुत गरेको ९८ रनको सामान्य लक्ष्य पछ्याएको लुम्बिनीले ८ विकेट सुरक्षित राख्दै ५० बल बाँकी छँदै जित हात पार्यो।
लुम्बिनीको सुरुआत भने सुखद हुन सकेन। टोलीले २ ओभरभित्रै २१ रन बनाउँदा आफ्ना दुई महत्वपूर्ण विकेट गुमाएको थियो। तर कप्तान रोहित पौडेल र निरोशन डिकवेलाले उत्कृष्ट साझेदारी गर्दै टोलीलाई सहज जित दिलाए।
कप्तान पौडेलले अविजित ४७ रन बनाए भने डिकवेलाले अविजित २७ रनको योगदान दिए। त्यसअघि डार्सी सर्टले १३ र आसिफ शेखले ७ रन बनाएका थिए।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पोखरा एभेन्जर्सले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ९७ रन मात्रै बनाउन सकेको थियो।
पोखराको ब्याटिङ सुरुदेखि नै दबाबमा परेको थियो। पहिलो ओभरमै विकेट गुमाएको पोखराले पावर प्लेमा ३ विकेट गुमाएर २३ रन मात्र जोड्न सक्यो। त्यसपछि पनि उसका ब्याटरले उल्लेखनीय साझेदारी गर्न सकेनन्।
चामिका करुणारत्नेले १७ बलमा २५ रन बनाउँदै केही प्रतिरोध गरे पनि अन्य ब्याटरबाट अपेक्षित प्रदर्शन हुन सकेन। पोखराका कुनै पनि अन्य ब्याटरले १५ रनको आँकडा पार गर्न सकेनन्।
लुम्बिनीको बलिङतर्फ रुबेन ट्रम्पलम्यानले उत्कृष्ट प्रदर्शन गर्दै ३ विकेट लिए। उनले ४ ओभरमा १६ रन खर्चिए। तिलकराज भण्डारीले २ विकेट लिँदा शेर मल्ल, अभिषेक गौतम र रोहित पौडेलले समान १ विकेट हात पारे।
उत्कृष्ट बलिङ प्रदर्शन गरेका ट्रम्पलम्यान खेलको प्लेयर अफ द म्याच घोषित भए।
यस जितसँगै लुम्बिनी लायन्स ५ अंकसहित अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। तीन खेल खेलेको लुम्बिनीले दुई खेलमा जित निकालेको छ भने वर्षाका कारण रद्द भएको एक खेलबाट एक अंक प्राप्त गरेको छ।
प्रज्वल थापावाट

