अन्नपूर्ण केवलकारको सफल परीक्षण गरिएको छ । अन्नपूर्ण केवलकारको सफल परीक्षण गरेको केवलकारका निर्देशक तीर्थराज त्रिपाठीले बताए ।
अब केही दिनसम्म केवलकार परीक्षण गर्दै अंग्रेजी नयाँ वर्षदेखि सञ्चालनमा ल्याउने तयारी गरिएको त्रिपाठीले बताए । उनले भने, “हामीले पोखरामा पहिलो पटक एक राउण्ड फेवातालको किनार सेतीबगरदेखि सराङकोट डाँडासम्म १८ वटै गुण्डला (डिब्बाहरु) सञ्चालन गरिसकेका छौं” बुधबार भएको परीक्षणको क्रममा स्थानीय, व्यवसायी तथा पत्रकारहरु माझ गरिएको परीक्षण सफल भएको निर्देशक त्रिपाठीले दावी गरे ।

गुण्डलाहरु सञ्चालन भएपछि तल्लो स्टेसनमा बेसलाइन सन्तुलन कायम गर्न हाल केही भाग सिमेन्टेड गरिएकाले केही दिनपछि मात्र पुनः गुण्डला सञ्चालनलाई निरन्तरता दिने उनले बताए । केवलकारमा जडान भएका डिब्बा र टावरको फिटिङसहितको परीक्षण गर्न जापानबाट आएको ७ सदस्य एक प्राविधिक टोलीले परीक्षण तथा अनुगमन गरेको छ ।

केबलकारमा यात्रा गर्दा हिमाल, ताल, र पोखराको मनोरम दृश्यावलोकन गर्न सकिने त्रिपाठीले बताए । फेवातालको किनार सेदी बगरबाट ८ देखि ९ मिनेटमै केवलकारबाट सराङकोट पुग्न सकिने निर्देशक त्रिपाठीले जनाए ।

अहिले फेवाताल क्षेत्रबाट सराङकोट जान गाडीबाट करिब ३० मिनेट लाग्छ । नेपालीहरुको लागि केवलकारमा जाने र आउने शुल्कः ६ सय रुपैयाँ निर्धारण गरिएको कम्पनीले जनाएको छ । विदेशीहरुलाई १५ देखि २० प्रतिशतसम्म बढी शुल्क लिने र स्थानीय र विद्यार्थीलाई विशेष छुटको समेत व्यवस्था गर्ने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय