
काठमाडौँ । सर्वोच्च अदालतमा झन्डै डेढ महिनापछि न्यायाधिशहरु इजलासमा बसी पूर्णरुपमा मुद्दाको सुनुवाइ गरी काममा फर्किएका छन् । हडताल गर्ने न्यायाधीशहरू र बारको आन्दोलनका अगुवाइ गरेका अधिवक्ताहरू नै इजलासमा फर्किएपछि भने बारको आन्दोलन कमजोर देखिएको छ । प्रधानन्यायाधीश राजीनामा माग गर्दै नेपाल बार एसोसिएसनका पदाधिकारीहरू र कानुन व्यवसायीहरूले गरेको आन्दोलन कमजोर देखिएको हो ।
सर्वोच्च अदालतमा गत कात्तिक ७ गते आइतबार मध्याह्नदेखि प्रधानन्यायाधीशमाथि मन्त्रिमण्डल विस्तारमा भाग खोजेको भन्ने आरोपका कारण न्यायालयमा प्रश्न उठेको र उक्त प्रश्नको जवाफ, सर्वोच्च अदालतका न्यायाधीश हरिकृष्ण कार्कीको प्रतिवेदन कार्यान्वयन गर्नुपर्ने लगायतका माग राख्दै न्यायाधीशहरूले सुनुवाइ गर्न इन्कार गरेका थिए । बन्दी र निवेदनका मुद्दाबाहेक अरू मुद्दामा सुनुवाइ हुन सकेको थिएन । यही मङ्सिर १५ गतेदेखि न्यायाधीशहरू र नेपाल बार एसोसिएसनका मागअनुसार गोला प्रक्रियाबाट पेसी तोकी सुनुवाइ गर्ने काम प्रारम्भ भएको छ ।

सर्वोच्च अदालतमा यही मङ्सिर १५ गतेदेखि गोला प्रक्रियाबाट पेसी तोकी सुनुवाइ प्रारम्भ भएको छ । उक्त प्रक्रियाबाट पेसी तोकिए पनि प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा कोभिड–१९ सङ्क्रमण र निमोनियाका कारण अस्पतालमा भर्ना हुनुभएको र कायममुकायम प्रधानन्यायाधीश नतोकिएको विवादका कारण बुधबार र बिहीबार प्रभावकारी रूपमा सुनुवाइ हुन सकेको थिएन ।