
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को मूल सैद्धान्तिक आधारस्तम्भ राजसंस्थाविरुद्ध विष वमन गरेको भन्दै पूर्वअध्यक्ष कमल थापामाथि अनुशासनको कारबाही गर्न कार्यकर्ताले माग गरेका छन् ।
राजसंस्था र हिन्दू राष्ट्र अनुकूल महाधिवेशनको म्याण्डेट लत्याउने कुचेष्टा गरेको, निर्वाचन संयोजक हरिबहादुर बस्नेतसहित निर्वाचन समितिलाई विवादमा तान्ने दुष्प्रयास गरेको भन्दै थापालाई नसिहत दिनु पर्ने माग राप्रपाभित्र व्यापक बनेको हो ।

पार्टी सुत्रका अनुसार, अध्यक्ष राजेन्द्र लिङ्देनलाई भेटेर, फोन गरेर र खुलापत्र लेखेर यस्तो दबाब दिनेहरुको संख्या बढिरहेको छ । राप्रपाका भूपू अध्यक्ष थापा, राप्रपाको मूख्य सैद्धान्तिक स्तम्भ संवैधानिक राजसंस्था प्रतिकुल गएको भन्दै युवा नेता विशाल विक्रम शाहले आपत्ति जनाएका छन् । राप्रपाको लेटरप्याड दुरुपयोग गरेर राजसंस्था र हिन्दुका मुद्दा कमजोर बनाउने थापाले दुष्प्रयास गरेको शाहको ठहर छ ।
यसै सन्दर्भमा अमेरिकाबाट अध्यक्ष लिङ्देनलाई पत्र लेख्दै थापामाथि छानविन गरी कारवाही गर्न उनले माग गरेका छन् । चुनाव हारेर गैरजिम्मेवार रुपमा राप्रपालाई कमजोर बनाउन थापा लागिपरेको भन्दै शाहले चिन्ता र चासो प्रकट गरेका हुन् ।