
काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा ७२ औँ राष्ट्रिय प्रजातन्त्र दिवस मूल समारोह समितिको गठन गरिएको छ ।
मूल समारोह समितिले यही फागुन ६, ७ र ८ गते विविध कार्यक्रमको आयोजना गरी प्रजातन्त्र दिवस भव्यताका साथ मनाउने निर्णय गर्नुका साथै कार्यक्रमलाई सफल बनाउन विभिन्न उपसमितिहरू समेत गठन गरेको छ ।

मूल समारोह समितिको आयोजनामा फागुन ७ गते सैनिक मञ्च टुँडिखेलमा मूल समारोह आयोजना हुनेछ भने जिल्लाहरूमा समेत विविध कार्यक्रमहरू आयोजना हुनेछन् ।
प्रजातन्त्र दिवसका अवसरमा देशैभरि दीपावली गर्ने, टुँडिखेलमा हेलिकप्टरबाट पुष्पवृष्टि र राष्ट्रिय झण्डा प्रदर्शन गर्ने लगायतका कार्यक्रमहरू राखिएको मूल आयोजक समितिले जनाएको छ ।