काठमाडौँ । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) सम्झौतालाई आजै प्रतिनिधि सभामा टेबल हुने भएको छ।
सभामुख अग्निप्रसाद सापाकोटाको अध्यक्षतामा बसेको कार्यव्यवस्था परामर्श समिति बैठकमा एमसीसीलाई अघि बढाउने सहमति जुटेको संसद् सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले जानकारी दिए।

बैठकमा एमसीसी सदनमा टेबल गर्ने वा के गर्ने भन्ने विषयमा केन्द्रित रहेर छलफल भएकामा सत्तारुढ कांग्रेसकातर्फबाट आजै पेश गर्ने प्रस्तावमा सहमति जुटेको हो।
यसअघि प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा एमसीसी सम्झौतालाई संसद्मा टेबल गर्ने सहमति भएको हो।
२६ माघ, २०७५ मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले एमसीसी सम्झौता अनुमोदनका लागि संसद्मा पेश गर्न स्वीकृति दिएको थियो। तत्कालीन अर्थमन्त्री युवराज खतिवडाले एमसिसी सम्झौता संसद्को साधारण बहुमतबाट अनुमोदन गर्न ३० आसार, २०७६ मा संसद्मा दर्ता गरेका थिए।

