काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच बालकोटस्थित ओली निवासमा भेटवार्ता सकिएको छ ।

दुई शीर्ष नेताहरुबीच घनीभूत छलफल भए पनि बैठकले ठोस निर्णय भने लिन सकेन । बैठकमा प्रधानमन्त्री देउवाले अमेरिकी सहयोग मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी र संसद्बाट अनुमोदन गर्न प्रस्ताव राखेका थिए ।

प्रधानमन्त्री देउवाको जवाफ दिँदै अध्यक्ष ओलीले भने आफ्नो पूरानै अडान दोहोर्याएका थिए । ओलीले एमालेले कारबाही गरेका १४ सांसदलाई सभामुखले कारबाही गरेको सूचना टाँस्नुपर्ने बताए ।

छलफलमा सहभागी भएका एमाले उपमहासचिव प्रदीप ज्ञवालीले एमाले एमसीसीमा अनिर्णित नरहने तर त्यसभन्दाअघि एमालेले उठाउँदै आएको माग पूरा हुनुपर्ने भनिएको बताए । यद्यपि, बैठक आआफ्नै अडानमा सकिएको छ भने पुनः अर्काै बैठक पनि बस्ने भनिएको छ ।

बैठकमा प्रधानमन्त्री देउवा, सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्र बहादुर कार्की, नेपाल कांग्रेसका पार्टी उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा र एमालेबाट ओलीका साथमा महासचिव शङ्कर पोखरेल र उपमहासचिव प्रदीप ज्ञवालीको सहभागिता रहेको थियो ।

आज दिउँसो प्रधानमन्त्री देउवाले सत्ता गठबन्धन दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालबीच छुट्टाछुट्टै छलफल गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय