रौतहट । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली (मंगलबार) रौतहट आउँदै छन् । रौतहटको मौलापुर नगरपालिकामा मधानी महायज्ञको उद्‍घाटन गर्न अध्यक्ष ओली रौतहट आउन लागेका हुन्।

करिब २ वर्षपछि अध्यक्ष ओली रौतहट आउन लागेका हुन्। करिब २ वर्षअघि रौतहटको गरुडामा भएको प्रदेशस्तरीय आमसभालाई सम्बोधन गर्न आएका ओली त्यसपछि रौतहट आएका थिएनन्।

२ वर्षअघि रौतहट आउँदा ओलीको साथमा प्रचण्ड र माधवकुमार नेपालसमेत सँगै आएका थिए। माधव नेपालको गृहजिल्लासमेत रहेको रौतहटमा आउन लागेका एमाले अध्यक्ष ओलीलाई स्वागत गर्न भव्‍य तयारी गरिरहेका मौलापुर नगरपालिकाकी नगर प्रमुख रिना कुमारी साहले जानकारी दिएकी छिन्। फागुन १७ गते एमाले अध्यक्ष ओलीले मधानी महायज्ञको उद्‍घाटन गर्ने नगर प्रमुख साहले बताइन्।

२ हजार वर्षभन्दा पुरानो पुरातात्विक महादेव मन्दिर केही वर्षअघि मौलापुर ५ पतौरास्थित स्थानीयले बारी खन्ने क्रममा भेटेको जनश्रुति छ। लगत्तै पूर्वमन्त्री प्रभु साहको पहलमा पुरातत्व विभागद्वारा उक्त मन्दिरको उत्खनन गर्दा सुरुमा महादेव मन्दिर १३औं शताब्दीभन्दा पहिलेको रहेको ठहर गरिएको थियो। पछि मन्दिरमा विभागले गौतम बुद्धको जन्मभूमि लुम्बिनी तिलौराकोटमा भेटिएका अवशेषसँग मिल्दो अवशेष भेटेपछि मन्दिर २ हजार वर्षभन्दा पुरानो रहेको अनुमान गर्दै थप उत्खनन जारी राखेको पूर्वमन्त्री प्रभु साहले जानकारी दिएका छन्।

मौलापुर नगरपालिकाकी नगर प्रमुख रीनाकुमारी साहको पहलमा उक्त महादेव मन्दिरलाई व्‍यवस्थित गरी महाशिवरात्रिको अवसरमा पछिल्लो तीन वर्षदेखि मधानी महायज्ञ भव्‍यताका साथ आयोजना हुँदै आएको छ। मधानी महायज्ञको पहिलो वर्ष राष्ट्रपति विद्यादेवी भण्डारीबाट उद्घाटन गरिएको थियो भने गत वर्ष तत्कालीन उपप्रधानमन्त्री ईश्वर पोखरेल प्रमुख अतिथिका रुपमा सहभागी थिए।

महायज्ञको अवसरमा मौलापुरमा पुरातात्तित्क महादेव मन्दिरमा सर्लाही, बारा, रौतहटलगायत सीमावर्ती भारतीय क्षेत्रबाट हजारौँ भक्तजन जल चढाउन आउने गर्दछन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय