काठमाडौं । प्रतिनिधिसभाबाट एमसीसी सम्झौता पारित भएपछि सत्तारुढ दल नेकपा माओवादी केन्द्रमा चर्को विवाद देखा परेको छ । खासगरी एमसीसी सम्झौता संसदबाट अनुमोदन भएपछि माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ निकै रुष्ट देखिएका छन् ।
एमसीसी सम्झौता संसदबाट अनुमोदन गराउन माआवादी केन्द्रले पनि महत्वपूर्ण भूमिका निर्वाह गरेको थियो । पार्टी महाधिवेशनको निर्णय विपरित अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एमसीसी सम्झौता अनुमोदनका लागि सघाएको श्रेष्ठको आरोप छ । नेता श्रेष्ठले एमसीसी अनुमोदन भएको दिनलाई कालो दिनको रुपमा लिइनुपर्ने र एमसीसीविरुद्घ आन्दोलन जारी राख्नुपर्ने धारणा व्यक्त गर्दै आएका छन् । तर, अध्यक्ष प्रचण्डले भने एमसीसी अनुमोदन भएपछि शान्ति प्रक्रिया र संविधानको रक्षा भएको प्रतिक्रिया दिएका छन् ।

प्रचण्डले सोमबार आफ्नै निवासमा आयोजित पत्रकार सम्मेलनमा श्रेष्ठलाई नै इंगित गर्दै ‘महाकाली सन्धिका बेला बामदेव गौतमलाई जस्तै लोकप्रिय हुन मन लागेर एमसीसीको विरोध गरिएको’ अभिव्यक्ति दिएका थिए । प्रचण्डले पार्टी छाड्ने मन भए रोक्न नसकिने मनसाय पनि व्यक्त गरेका थिए । प्रचण्डको उक्त अभिब्यक्तिबाट श्रेष्ठ झनै रुष्ट बनेका थिए । त्यसपछि श्रेष्ठले आफु निकट नेताहरुसँग पनि बाक्लो छलफल गरेका थिए । श्रेष्ठलाई उनी निकट नेताहरुले तत्कालै माओवादी केन्द्रको सदस्यबाट राजीनामा दिनुपर्ने, फागुन २० गतेदेखि बोलाइएको केन्द्रीय समिति बैठकमा पनि उपस्थित नहुने र नयाँ ढंगले पार्टी पूर्ननिर्माणमा लाग्नुपर्ने सुझाव दिएका थिए ।
नेता नारायणकाजी श्रेष्ठले एमसीसी अनुमोदन भएको दिनलाई कालो दिनको रुपमा लिइनुपर्ने र एमसीसीविरुद्घ आन्दोलन जारी राख्नुपर्ने धारणा व्यक्त गर्दै आएका छन् । तर, अध्यक्ष प्रचण्डले भने एमसीसी अनुमोदन भएपछि शान्ति प्रक्रिया र संविधानको रक्षा भएको प्रतिक्रिया दिएका छन् ।
एमसीसीका कारण पार्टीभित्र विवाद चर्कंदै गएपछि मंगलबार अध्यक्ष प्रचण्ड नेता श्रेष्ठलाई भेट्न आफै हात्तिवनस्थित श्रेष्ठको निवासमा पुगेका थिए । उक्त भेटमा पनि श्रेष्ठले एमसीसीको विषयमा आफ्नो अडान कायमै राखेको बताइएको छ । अध्यक्ष प्रचण्डले भने एमसीसीको विषयमा विमति रहे पनि अन्य विषयमा मिलेर अघि बढ्न श्रेष्ठसँग प्रस्ताव राखेका थिए ।

