काठमाडाैं । मित्रराष्ट्र अमेरिकी सेना र नेपाली सेनाको सहभागितामा छाउनीस्थित वीरेन्द्र अस्पताल र महावीर गण रेञ्जरमा सञ्चालन हुने Medical Evacuation Information Exchange (MEIE) कार्यक्रमको २०७८ चैत्र ०७ गते छाउनीस्थित वीरेन्द्र अस्पतालमा आयोजित कार्यक्रमकाबीच क्लिनिकल रजिष्टार, प्राविधिक सहायक रथी डा. राजिव राज शाहीबाट शुभारम्भ गरिएको छ ।
विभिन्न अपरेशन, दैवी प्रकोपको दौरानमा घाईते हुने व्यक्तिहरुलाई तत्काल Medical Evacuation (MEDEVAC) गरी स्वास्थ्योपचार सेवा प्रदान गर्ने कार्यलाई सहज एवं प्रभावकारी बनाउने उद्देश्यले सञ्चालित उक्त अभ्यासमा प्राविधिक सहायक रथी डा. शाहीले स्वागत मन्तव्य राख्दै अभ्यासबारे संक्षिप्त जानकारी समेत गराएका थिए ।

उक्त अभ्यासमा अमेरिकी सेनाबाट १८ र नेपाली सेनाबाट ४२ जना गरी जम्मा ६० जना शिक्षार्थीहरु सहभागी रहेकाे नेपाली सेनाले जानकारी दिएकाे छ । २०७८ चैत्र ०७ गतेदेखि २०७८ चैत्र ११ गते (तद्अनुसार, 21st Mar 2022 – 25th Mar 2022) सम्म सञ्चालन हुने उक्त संयुक्त अभ्यासको दौरान शिक्षार्थीहरुलाई दुवै देशको MEDEVAC Planning, दुवै देशसँग भएका Medical Response Equipment र Communication Equipment हरु लगायतका विषयहरुमा जानकारी आदन-प्रदान गरिने बताइएकाे छ भने Table top exercise संचालन गरी Live Air MEDEVAC Demonstration समेत प्रस्तुत गरिने योजना रहेको जानकारी सेनाले दिएकाे छ ।
यस किसिमको संयुक्त अभ्यासबाट दुई देशका सेनाबीच रही आएको मैत्रिपूर्ण तथा पारस्परिक सम्बन्धलाई अझ बढी प्रगाढ बनाउन मद्दत पुग्ने तथा भविष्यमा आउन सक्ने जस्तोसुकै परिस्थितिहरुमा पनि छिटोछरितो र सहज ढंगले स्वास्थ्योपचार सेवा प्रदान गर्न दुवै देशका सेनाहरुको क्षमता अभिबृद्धि हुने विश्वास नेपाली सेनाले लिएको छ ।

