काठमाण्डाै । नेपाली क्रिकेट टाेलीका पूर्वकप्तान पारस खड्का ‘पल्सर स्पाेर्ट्स अवार्ड’ मा दशकका पुरुष खेलाडी (प्लेयर अफ द डिकेड मेल) घाेषित भएका छन् । नेपाल खेलकुद पत्रकार मञ्चले आयोजना गर्ने पल्सर स्पोर्ट्स अवार्डको १८ औँ संस्करणमा आज मङ्गलवार खड्का याे पुरस्कारबाट सम्मानित भएका हुन् ।
पारसकाे एक दशककाे कप्तानीमा नेपालले सन् २०१४ मा ऐतिहासिक टी–२० विश्व कप खेलेकाे थियाे । यस्तै सन् २०१८ मा पारसले नेपाललाई ऐतिहासिक एकदिवसीय क्रिकेटकाे मान्यता दिलाएका थिए ।

नेपाली खेलकुद इतिहासमै पछिल्लो एक दशकमा पुर्याएको याेगदानकाे कदर गर्दै पारसलाई याे पुरस्कार प्रदान गरिएकाे हाे । पारस एकदिवसीय र टी–२० क्रिकेट दुवैमा नेपालका लागि पहिलाे शतक बनाउने खेलाडी पनि हुन् । पारसले गएकाे वर्ष नेपाली टाेलीबाट सन्न्यास लिएका थिए ।
त्यस्तै नेपाली राष्ट्रिय फुटबल टोलीकी फरवार्ड भण्डारी दशककै उत्कृष्ट महिला खेलाडी घोषित भइन् । सन् २०१४ देखि राष्ट्रिय टोलीमा डेब्यु गरेकी उनले घरेलु फुटबलमा उत्कृष्ट खेल प्रदर्शन गर्दै आएकी छिन् ।
पच्चीस वर्षीया भण्डारीले यसअघि सन् २०१९ को स्पोर्ट्स अवार्डमा उत्कृष्ट महिला खेलाडी जितेकी थिइन् । राष्ट्रिय टोलीका लागि ३८ गोल गर्दै सर्वाधिक गोलकर्ताको नाम राखेकी उनी सम्मिलित नेपाली टोली दुईपटक साफ च्याम्पियनशिपमा उपविजेता बनेको थियो । राष्ट्रिय फुटबल टोलीले १२औँ र १३औँ सागमा रजत पदक प्राप्त गरेको थियो ।
त्यस्तै नेपाल टेबलटेनिसकी एलिना महर्जनले पिपुल्स च्वाइस विधा जितेकी छिन् । उनले क्रिकेटका कुशल भुर्तेल, ब्याडमिन्टनका प्रिन्स दाहाल र फुटबलकी एन्जिला तुम्बापो सुब्बालाई पछि पार्दै भोटमार्फत उक्त अवार्ड जितेकी हुन् । एलिनाले ४७.८३३ मत प्राप्त गरिन् । उनले सागमा लगातार दुई पटक (१२औँ र १३औँ साग) को महिला टिम इभेन्टस्मा कास्य पदक प्राप्त गरेकी थिइन् ।
नेपाली राष्ट्रिय फुटबल टोलीले पल्सर स्पोर्ट्स अवार्ड २०७७ मा वर्षको उत्कृष्ट टोलीको अवार्ड जित्यो । यसैगरी डा अजय राणा स्पेसल अवार्ड अन सिन हिरोबाट सम्मानित भए । राणा आफ्नो समयका हक्की र फुटबल खेलका अब्बल खेलाडी थिए । सन् १९८४ मा पहिलो दक्षिण एसियाली खेलकुद आयोजना हुँदा सबै खेलाडीको स्वास्थ्य व्यवस्थाको जिम्मेवारी राणाले नै निर्वाह गरेका थिए ।
धाविका पुष्पा भण्डारीले ‘पफर्मर अफ दी इयर’ अवार्ड हात पारिन् । गत वर्ष पुस २६ गते बङ्गलादेशको ढाकामा सम्पन्न बङ्गबन्धु शेख मुजिव ढाका म्याराथनमा भण्डारीले स्वर्ण पदक जितेकी थिइन् । उनले १३औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत म्याराथनमा रजत पदक प्राप्त गरेकी थिइन् ।

