काठमाडौ । नयाँ बानेश्वरको एउटा जुवा खालबाट बरामद गरिएको चेक फिर्ता गरेको बारे छनविन गर्न गठित समितिले तत्कालीन महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख एसएसपी अशोक सिंहलाई कारबाही गर्न सिफारिस गरेको छ ।
कानुनी प्रक्रिया छलेर एसएसपी सिंहले २ करोड २९ लाखको चेक आरोपीलाई फिर्ता गरिदिएका थिए । कानुनी प्रक्रियामा लैजानु पर्ने उक्त चेक आफू सरुवा भएर जाने दिन आरोपीलाई नै बोलाएर फिर्ता दिएको घटना सार्वजनिक भएपछि प्रहरी प्रधान कार्यालले डिआइजी राजेशलाल कर्णको संयोजकत्वमा छानबिन समिति गठन गरेको थियो ।

छानबिन समितिमा एसपी आभूषण तिम्सिना र डिएसपी सन्तोष तामाङ सदस्यका रूपमा रहेका थिए । गत पुस १३ गते गठन भएको समितिले प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीलाई प्रतिवेदन बुझाउँदै एसएसपी सिंहले आचरण विपरित काम गरेको ठहर गरेको छ ।गत असोज २२ गते सिन्धुलीका राजकुमार बराल र सुभाष भेटवाल बानेश्वरस्थित ‘९९ आना’ नामको घरजग्गा कारोबार गर्ने अफिसमा जुवा खेलेका थिए ।
त्यहाँ आफुलाई बोलाएर मदिरामा अखाद्य वस्तु मिसाएर खुवाएको र ७ थान चेक चोरेको भन्दै बरालले महानगरीय प्रहरी परिसर काठमाडौमा दिएका थिए । उक्त उजुरीको आधारमा प्रहरीले ९९ आनाको कार्यालयमा छापा मारेर उक्त मूल्यको चेक बरामद गरेको थियो । कार्यालयका सञ्चालक भेटवालको साथबाट असोज २५ गते प्रहरीले चेक बरामद गरेको थियो ।

