काठमाडाैं । नेपाली सेना कल्याणकारी बोर्डको समन्वय तथा संयोजकत्वमा नेपाली सेनाबाट निवृत्तिभरणमा रहेका भू.पू. सैनिक तथा तीनका एकल महिलाहरुको सहभागितामा सुर्खेतस्थित पश्चिम कमाण्ड हेडक्वार्टर अन्तर्गत नं.२ राजदल गणमा आयोजना भएको “नेपाली सेना भूतपूर्व सैनिक सम्मेलन-२०७८” कार्यक्रम २०७८ चैत्र २० गते प्रधान सेनापति महारथी प्रभुराम शर्माको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ ।

कल्याणकारी बोर्डका प्रमुख कार्यकारी अधिकृतबाट स्वागत मन्तव्य तथा प्रधान सेनापति महारथी प्रभुराम शर्माबाट दीप प्रज्वलन गरी समुद्‍घाटन भएको यस सम्मेलनमा सुर्खेत, दैलेख, जाजरकोट, जुम्ला, डोल्पा, मुगु, हुम्ला र कालिकोट जिल्लाहरुमा बसोबास गर्ने करीब २००० (दुई हजार) जना नेपाली सेनाका भूतपूर्व सैनिक तथा परिवारजनको सहभागिता रहेको थियो ।

उक्त सम्मेलनलाई सम्बोधन गर्दै प्रधान सेनापति महारथी शर्माले नेपाली सेनाबाट अवकाश प्राप्त एवं बहालवाला सैनिकहरुको साझा घर रहेको र भूतपूर्व सैनिकहरुले स्थान विशेषमा रहेर गरिएकाे सेवाले समग्रमा नेपाली सेनाको छविलाई उच्च बनाउन सहयोग पुगेको बताएका थिए । साथै, नेपालमै बसेर परिश्रम गरे सफल भईन्छ भन्ने सन्देश दिंदै प्रधान सेनापति महारथी शर्माले “Welfare Vision 2030” अनुरुप हिताधिकारीहरुको असीमित चाहना र आकांक्षाहरुको सम्बोधन गर्दै कल्याणकारी कोषलाई थप दिगो, मितव्ययी र पारदर्शी बनाउने लक्ष्य रहेको जानकारी गराएका थिए ।

विदेशी भूमिमा गरेको परिश्रम भन्दा स्वदेशी माटोको गन्ध नै मीठो र प्रिय हुनुपर्ने भावना व्यक्त गर्दैप्रधान सेनापति महारथी शर्माबाट, हाल संचालन भईरहेका कल्याणकारी कार्यक्रम तथा सेवा सुविधाहरुका सम्बन्धमा संक्षिप्त जानकारी गराइएकाे थियो भने नेपाली सेनाको श्रोत, साधन र क्षमताले भ्याएसम्म यस किसिमका सेवा सुविधाहरु भविष्यमा थप विस्तार तथा अभिवृद्धि गर्दै लगिने विश्वास समेत दिलाइएको थियो ।

सो कार्यक्रममा, दैलेख जिल्ला, नारायण नगरपालिका वडा नं. ७, निवासी जेष्ठ भूतपूर्व सैनिक, ८२ (बयासी) वर्षका प्युठ हर्कबहादुर ठकुरी (अ.प्रा.) र चन्दननाथ गण (तत्कालीन चन्दननाथ गुल्म) बाट अवकास प्राप्त स्वर्गीय जमदार जयकृष्ण उपाध्याय (अ.प्रा.) को श्रीमती, जुम्ला जिल्ला, चन्दननाथ नगरपलिका वडा नं. १० निवासी, ८२ (बयासी) वर्षकी जेष्ठ एकल महिला श्रीमती लक्ष्मी कन्या उपाध्यायलाई सम्मान गरिएको थियो भने सर्वोत्कृष्ट उद्यमी व्यवसायीहरुलाई प्रशंसा-पत्र एवं पुरस्कार वितरण गरिएको थियो ।

उक्त समारोहमा, ४ वा सो भन्दा बढी सन्ततिहरुलाई नेपाली सेनामा सेवा गर्न अभिप्रेरित गर्ने ५ (पाँच) जना आमा तथा बुवाहरुलाई सम्मान, फरक क्षमता भएका तथा अशक्‍त १४ (चौध) जनालाई व्हिल चेयर, बैसाखी तथा आर्थिक सहयोग प्रदान गरिनुका साथै लघुबित्त कार्यक्रम एवं महिला उद्यमशीलता कर्जा प्राप्त गर्ने व्यक्तिहरुलाई चेक हस्तान्तरण गरिएको थियो ।

भू.पू. सैनिकहरुको तर्फबाट प्रादेशिक रथीबृन्द प्रतिनिधि तथा नेपाल राष्ट्रिय भूतपूर्व सैनिक संघका बरिष्ठ उपाध्यक्षबाट मन्तव्य एवं बलाधिकृत रथी बाल कृष्ण कार्कीको समापन मन्तव्य सहित समापन भएको उक्त सम्मेलनमा, नेपाली सेनाका बहालवाला तथा अवकाश प्राप्त रथीवृन्द तथा अधिकृतहरु, कल्याणकारी बोर्डका प्रमुख कार्यकारी अधिकृत, नेपाल ईन्भेष्टमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत, बहालवाला एवं अवकाशप्राप्त सैनिक तथा परिवारहरु र अन्य आमन्त्रित अतिथि तथा पत्रकारहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।

उक्त सम्मेलनमा भू.पू. सैनिक तथा तिनका एकल महिलाहरुको तर्फबाट मार्चपाष्टलगायत राष्ट्रिय सेवादलका क्याडेटहरुद्वारा नृत्य प्रदर्शन, नेपाली सेनाद्वारा स्थान विशेषको झाँकी, संस्कृति झल्किने नाँच, खुकुरी ड्रिल, तेक्वान्दो पि.टि., मास पि.टि. र सैनिक व्याण्डको प्रस्तुति समेत प्रदर्शन गरिएको थियो ।

यस सम्मेलनलाई लक्षित गर्दै २०७८ चैत्त १८ गतेदेखि २० गतेसम्म निमारे ब्यारेक, सुर्खेतस्थित नं.४ फि.ए. गुल्ममा नेपाली सेनाद्वारा विशेषज्ञसहितको स्वास्थ्य शिविर संचालन गरि GOPD, MEDICINE, SURGERY, OBS/GYN, PAEDIATRICS, EYE, ENT, DENTAL, RADIOLOGY, PHARMACY, PATHOLOGY, ORTHOPEDIC लगायतका स्वास्थ्योपचार सेवा प्रदान गर्नुका साथै COVID-19 Vaccine नलगाएकाहरुको हकमा Vaccine को ब्यवस्था गरिएको थियो । यसका साथै, स्वास्थ्य शिविरमा आँखा चेकजाँच गराउँने सहभागीहरुलाई आवश्यकता अनुसार नि:शुल्क चश्मा समेत वितरण गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय