काठमाडौँ । नेपाली सेनाले सफा हिमाल अभियान–२०२२ सञ्चालन गरी सगरमाथा, ल्होत्से, कञ्चनजङ्घा र मनास्लु हिमालमा जम्मा भएको फोहोर सङ्कलन सुरु गरेको छ ।
नेपाली सेनाका प्रवक्ता सहायकरथी नारायण सिलवालका अनुसार अभियान २०७८ चैत २२ गते सुरु भएको हो । अभियान २०७९ जेठमा सम्पन्न हुनेछ । उहाँका अनुसार सफाइ अभियानअन्तर्गत चारवटा हिमाल सफाइमा सेनाका चार सेनानीको नेतृत्वमा टोली परिचालन भएका छन् ।

नेपाल सरकारले हिमाल सफा राख्ने अभियानअन्तर्गत सन् २०१९ देखि सफा हिमाल अभियान सुरु गरेको थियो । हिमाल आरोहण क्रममा आरोहीले प्रयोग गरी बेवारिसे अवस्थामा फ्याँकेका वस्तुका कारण हिमाल फोहोर बन्दै गएपछि सरकारले यस्तो अभियान घोषणा गरेको हो । जसको कार्यान्वयन तथा नेतृत्व नेपाली सेनाले गर्दै आएको छ ।
जम्मा भएको फोहोर सङ्कलन गरी नकुहिने फोहोरलाई पुनः प्रयोगमा ल्याउने र कुहिने फोहोर स्थानीय सरकारलाई हस्तान्तरण गरिने सेनाले जनाएको छ ।

