काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र वीरबिक्रम शाहले व्यवस्था फेरिए पनि अवस्था फेरिन नसकेको गुनासो गर्नुभएको छ ।
नयाँ वर्ष २०७९ सालको अवसरमा शुभकामना दिँदै शाहले वर्ष बदलिँदा हर्ष बढ्नुपर्ने धारणा राख्नुभएको छ । भित्ताको पात्रो फेरिएपछि जनजीवनमा स्तर वृद्धि हुनुपर्ने उहाँको भनाइ छ । शाहले नयाँ वर्षको प्रारम्भमा देशवासी र बाध्यतावश विदेशी भूमिमा रहेर बसेका सबै नेपालीमा सुख, शान्ति तथा समुन्नतिको कामना गर्नुभएको छ ।

देशको आर्थिक स्थिति नाजुक बन्दै गएको प्रति संकेत गर्दै नेपालीको घर–घरमा बढ्दो महंगीसँगै थपेको आर्थिक बोझले जीवन धान्न मुश्किल परेको भन्दै उहाँले चिन्ता व्यक्त गर्नुभएको छ ।
नयाँ वर्षको शुभकामना सन्देशमा पूर्व श्री ५ ले नेपालको स्थायित्व, शान्ति र राष्ट्रिय अस्मितासँगै उन्नति सुनिश्चित गर्न नेपाललाई शान्तिभूमि बनाउन आह्वान गर्दै भन्नुभएको छ, ‘सबै राष्ट्र, सबै समुदाय मिलेर रहुन्, कतै अशान्ति नहोस्, कोही कसैमा विभाजन, विभेद नरहोस् भन्ने हाम्रो मान्यता हो । छिमेकी मित्र राष्ट्रहरुप्रति हामीले अवलम्बन गर्ने नीति तथा व्यवहारले हाम्रो उन्नति प्रगतिलाई मात्र प्रभावित गर्दैन, मुलुकको स्थायित्व, शान्ति र राष्ट्रिय अस्मिता समेतमा कुनै न कुनै स्तरको प्रभाव पर्न जाने अवस्थालाई सम्झेर हामी सदैव चनाखो हुनुपर्दछ । यही भावनालाई आत्मसात गर्दै नेपाल शान्ति भूमि बन्न सकोस् भन्ने आकांक्षा हामीले राखेका हौँ । तर आज नेपाल कोहीसँग कतै टांँसिएर कसैप्रतिको दूरभाव राख्ने मार्गतर्फ लाग्यो कि भन्ने जुन धारणा उत्पन्न भएको छ त्यो आफैमा आत्महीनताको विषय बन्न गएको छ।’

