काठमाडौं । नेपाल राष्ट्र बैकले सार्वजनिक गरेको चालु आर्थिक बर्षको ८ महिने आर्थिक तथा वित्तीय स्थितीले फागनु मसान्त सम्म चालु खाता ४ खर्ब ६२ अर्ब ९३ करोड घाटामा रहेको देखाएको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता १ खर्ब ५१ अर्ब ४२ करोड घाटामा रहेको थियो ।

यो अवधिमा शोधनान्तर स्थिति २ खर्ब ५८ अर्ब ६४ करोड घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति ६८ अर्ब १ करोडले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ५६ करोड ५८ लाखले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा २ अर्ब १७ करोडले घाटामा रहेको हो ।

आर्थिक वर्ष २०७८–७९ को आठ महिनामा कुल वस्तु निर्यात ८२.९ प्रतिशतले वृद्धि भई १ सय ४७ अर्ब ७५ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात ७.८ प्रतिशतले वृद्धि भएको थियो । गन्तव्यका आधारमा भारत तथा अन्य मुलुकतर्फ भएको निर्यात क्रमशः १ सय ४ दशमलव २ प्रतिशत र २९.१ प्रतिशतले वृद्धि भएको छ भने चीनतर्फको निर्यात ११ प्रतिशतले घटेको छ । आर्थिक वर्ष २०७८–७९ को आठ महिनामा कुल वस्तु आयात ३८.६ प्रतिशतले वृद्धि भई १ हजार ३ सय ८ अर्ब ७३ करोड पुगेको उल्लेख गरेको छ ।

तर, यस्तो अवस्थामा पनि घर जग्गामा कारोबार भने अकासिएको कारोवारले देखाएको छ । भूमि, व्यवस्थापन तथा अभिलेख विभागका अनुसार चैत महिनामा मात्रै करिब ७१ हजार हाराहारीमा घरजग्गा किनबेच भएको रकेर्डमा छ । सो सम्वन्धमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले आयातमुखी अर्थतन्त्रले जुनसुकै बेला समस्या आउनसक्ने भन्दै चिन्ता व्यक्त गरेका छन ।

तरलता अभाव नभएको सामान्य अवस्थामा मासिक औसतमा ७० हजारको हाराहारीमा घरजग्गा कारोबार हुने गरेको थियो । गत माघ महिनामा घरजग्गा किनबेचमा उल्लेख्य वृद्धि भएकोमा फागुन र चैतमा भने सामान्य नै रहेको कारोबारले देखाएको थियो । चैतमा मुलुकभरका मालपोत कार्यालयबाट १ लाख ५९ हजार २६४ सेवा प्रवाह हुँदा ७० हजार ८ सय ३० घरजग्गा किनबेच भएको थियो ।

गत फागुन एक महिनामा ७४ हजार ३६ घरजग्गाको किनबेच भएको थियो । जुन साउनपछिकै सबैभन्दा बढी किनबेच भएको तथ्याकले देखाएको छ । चैतमा देशभरका मालपोत कार्यालयबाट ७० हजार ८ सय ३० लिखत पारित हुँदा ६ हजार २ सय ८७ नामसारी, ४ हजार ४२३ संशोधन, ३५ हजार ३४० रोक्का, २३ हजार ४ सय फुकुवा र २ हजार ९४ दाखिला खारेज गरेको पनि देखिएको छ ।

चैत महिनामा सबैभन्दा बढी भूमिसुधार तथा मालपोत कार्यालय इनरुवा सुनसरीबाट कारोबार भएको छ । हरेक महिना उच्च रुपमा कारोबार हुँदै आएको इनरुवा मालपोत कार्यालयबाट चैतमा मात्रै ३ हजार ५ सय घरजग्गा किनबेच भएको थियो । यो संगै बेलबारी मोरङबाट २ हजार ८ सय , भद्रपुर झापाबाट २ हजार ७ सय, जनकपुर धनुषाबाट २ हजार ३ सय ७६, नेपालगञ्जबाट २ हजार ३ सय, ललितपुर लगनखेलबाट २ हजार १ सय र भक्तपुरबाट १ हजार ९ सय घरजग्गा किनबेच भएको मालपोत कार्यालयको रेकर्डले देखाएको छ ।

७१ हजार मध्ये उपत्यकामा मात्रै चैत महिनामा करिब ९ हजार घरजग्गाको किनबेच भएको छ । फागुनमा ५ हजार ५ सय घरजग्गा किनबेच भएकोमा चैत महिनामा उच्च रुपमा किनबेच भएको हो । चैतमा उपत्यकामा सबैभन्दा बढी ललितपुर मालपोत कार्यालयले कारोबार गरेको थियो । उक्त मालपोत कार्यालयबाट २ हजार ९६ वटा घरजग्गा किनबेच भएको विभागले जनाएको छ ।

त्यसैगरी, भक्तपुरबाट १९ सय ४९, कलंकीबाट १ हजार ७ सय, साँखुबाट १ हजार ३८, चावहिलबाट ७ सय ५८, डिल्लिबजारबाट ३१५, टोखाबाट २९३, गोटीखेलबाट ४१ र मनमैजुबाट ६ सय ३९ वटा घरजग्गाको किनबेच भएको छ । घर जग्गा बाट चैत महिनामा मात्रै ५ अर्ब ७५ करोड ७४ लाख ८८ हजार राजस्व संकलन गरेको छ ।

सो महिना सेवा करवापत २३ करोड ६६ लाख ९२ हजार, बागमतीवापत १७ करोड ९० लाख ३९ हजार, रजिष्ट्रेशन दस्तुरबाट ३ अर्ब ४८ करोड ८७ लाख, पूँजीगत लाभ करवापत १ अर्ब ३० करोड र अन्य विभिन्न विधा सो राजस्व संकलन भएको हो । संकलित राजस्वमध्ये सबैभन्दा बढी लगनखेलबाट संकलन गरेको छ ।

लगनखेलबाट ५८ करोड ४५ लाख, कलंकीबाट ४० करोड ५० लाख, डिल्लिबजारबाट ३४ करोड ५० लाख, भक्तपुरबाट ३२ करोड ४० लाख, चावहिल ३० करोड ३६ लाख, मनमैजु १४ करोड ६८ लाख र काभ्रेपलाञ्चोकबाट १४ करोड ५ लाख रुपैयाँ राजस्व संकलन गरेको तथ्यांकले देखाएको छ ।

कोरोना महामारीकै समयमा जसरी सेयर बजार फस्टाएको थियो । त्यसैगरी घर जग्गा कारोबार पनि फस्टाएको थियो । उद्योग व्यवसाय ठप्प प्राय भएपछि घर जग्गा र सेयर कारोबार बढेको हो । उच्च रुपमा कारोबार भएको घरजग्गाका कारण घरजग्गाको मूल्य छोइनसक्नु अवस्थामा पुगेको छ । तर, पनि घरजग्गा कारोबार कम हुने संकेत सम्म देखिएको छैन ।

गत कात्तिक महिना देखी देखिन थालेको तरलता अभाव अहिलेसम्म सहज हुन सकेको छैन । वैशाखसम्ममा आइपुग्दा तरलता अभावको समस्या अझ बढेको थियो । तरलता अभाव हुँदासमेत घरजग्गा कारोबारमा कुनै असर नदेखिएकाले सरोकारवालाहरूले घरजग्गा कारोबारलाई नियन्त्रण गर्नुपर्ने बताउँदै आएका छन्

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय