
काठमाडौं । राजस्व अनुसन्धान विभागले राजस्व चुवाहट गरेको आरोपमा पाँचजना विरुद्ध ३६ करोड रुपियाँ सजाय दाबीसहित मुद्दा दर्ता गरेको छ । शुभलक्ष्मी इन्टरनेशनल समेतका फर्महरुले राजस्व चुहावट गर्ने मनसायले नक्कली तथा झुट्टा मूल्य अभिवृद्धि कर विजक खरिद गरी राजस्व चुवाहट गरेको भन्दै विभागले मुद्दा दर्ता गरेको जनाएको छ । यी कम्पनीहरुले आय विवरणहरु तयार गरी मूल्य अभिवृद्धि कर नतिरेको दाबी विभागको छ ।
विभागले यी पाँचजना उपर ३६ करोड ११ लाख ३७ हजार २८६ रुपियाँ सजाय दाबीसहित मुद्दा दर्ता गरेको विभागका सूचना अधिकारी दिपेश लेखकले जानकारी दिनुभयो । काठमाडौं महानगरपालिका वडा नम्बर १३ बाफल स्थायी बसोबास गर्ने श्री शुभलक्ष्मी इन्टरनेशनल, गणपति ट्रेड लिंक, एच.बि.ट्रेड एण्ड सप्लायर्स र एम. के. इन्टरनेशनल कम्पनीबाट कारोवार गर्ने मनिषकुमार अग्रवाल, काठमाडौं महानगरपालिका वडा नम्बर १३ बाफल स्थायी बसोवास गर्ने एचबि ट्रेड एण्ड सप्लायर्स, साझेदार तथा गणपति ट्रेड लिंक सञ्चालक र एम के इन्टरनेशनल कम्पनीका कारोबारमा संलग्न हितेषकुमार अग्रवाल, काठमाडौं नागार्जुन नगरपालिका वडा नम्बर ३ सितापाइला स्थायी बसोवास भई काठमाडौं महानगरपालिका १३ वाफल चंखुमार्ग बसोबास गर्ने एमके इन्टरनेशनलका सञ्चालक प्रमित महर्जन रहेको उहाँले बताउनुभयो ।
