काठमाडौं । आगामी ३० गते हुने स्थानीय निर्वाचनमा मतदान गर्नका लागि मतदाता परिचय पत्र अनिवार्य हुने भएको छ । निर्वाचन आयोगले अनिवार्य मतदाता परिचय पत्रको ब्यबस्था गरेको निर्वाचन आयोगका प्रवक्ता शालिकराम शर्मा पौडेलले बताए । उनका अनुसार यो भन्दा अघिल्ला निर्वाचनमा मतदाता सूचीमा नाम भएका तर ममतदाता परिचय पत्र नभएकालाई अन्य सरकारी कागज पत्रका आधारमा मतदान गर्न दिने व्यवस्था गरिएको थियो । तर यस पटक आयोगले त्यस बिषयमा केही निर्णय नगरेको पौडेलले जानकारी दिए ।
निर्वाचन हुनुभन्दा तीन दिन अघि अर्थात बैशाख २७ गते देखि पुरानो नामावली अनुसारको मतदाता परिचय पत्र सम्बन्धित मतदान केन्दबाट वितरण गरिने उनले जानकारी दिए । त्यसैगरी २९ गते नयाँ मतदातालाई मतदान परिचय पत्र वितरण गरिने पौडेलले जानकारी दिए । मुलुक सङ्घीय संरचनामा गएपछि दोस्रो पटक यही वैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनमा ३५ हजार २२१ पदका लागि कूल एक लाख ५३ हजार २२० जनाले उम्मेदवारी दिएका छन् ।

विद्यमान कानुनी व्यवस्थानुसार मुलुकमा ६ महानगरपालिका, ११ उपमहानगरपालिका, २७६ नगरपालिका, ४६० गाउँपालिका र ६ हजार ७४३ वडा छन् । यी स्थानीय तहमध्ये महानगरपालिका, उपमहानगरपालिका र नगरपालिकामा प्रमुख/उपप्रमुख, गाउँपालिकामा अध्यक्ष÷उपाध्यक्ष, वडाहरुमा वडाध्यक्ष र सदस्य पदमा निर्वाचन हुँदैछ । निर्वाचन आयोगका अनुसार यही वैशाख २९ गतेसम्म १८ वर्ष पूरा भएका कूल मतदाता एक करोड ७७ लाख ३३ हजार ७२३ छन् । तीमध्ये पुरुष मतदाता ८९ लाख ९२ हजार १०, महिला मतदाताको सङ्ख्या ८७ लाख ४१ हजार ५३० र अन्य मतदाताको सङ्ख्या १८३ रहेको छ ।

