काठमाडौं । विवेशील साझा पार्टीको अध्यक्षबाट रवीन्द्र मिश्रले राजीनामा दिनुभएको छ । मिश्रले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै स्थानीय तह निर्वाचनमा पार्टीको निराशाजनक परिणाम आएको भन्दै राजीनामा दिएको घोषणा गर्नुभएको हो ।

विज्ञप्तिमा मिश्रले आफू अब पार्टीको साधारण सदस्यका रुपमा मात्र रहने उल्लेख गर्नुभएको छ । पार्टी सदस्य तथा शुभेच्छुकको अपेक्षा पूरा गर्न नसकेकोमा दुःखी भएको बताउँदै मिश्रले गत पाँच वर्षको अवधिमा पार्टीलाई सघाउने सबैप्रति आभार व्यक्त गर्नुभएको छ ।

पाँच वर्षसम्म तन, मन र धनले भ्याएसम्म निःस्वार्थ र इमानदार भएर काम गर्दागर्दै पनि निर्वाचनमा सोचेजस्तो परिणाम आउन नसकेको भन्दै उहाँले परिणामको सम्पूर्ण जिम्मेवारी आफूले लिने उल्लेख गर्नुभएको छ ।

मिश्रले मिलन पाण्डेलगायतमाथिको कारबाही फिर्ता लिन पनि केन्द्रीय कार्यसम्पादन समिति र केन्द्रीय समितिलाई अनुरोध गर्नुभएको छ । पार्टीको दस्तावेज ‘विचारभन्दा माथि देश’का विरुद्ध गतिविधि गरेकोमा संयोजक पाण्डेलगायतलाई कारबाही गरिएको थियो । दस्तावेज पेश गर्ने अध्यक्षले नै राजीनामा दिइसकेकाले ती कारबाही फिर्ता गरिदिन उहाँले आग्रह गर्नुभएको हो । दस्तावेजप्रति असहमति राखेर राजीनामा दिएकाहरूलाई फेरि पार्टीमा सामेल हुन उहाँले अनुरोध गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय