काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन स्वच्छ, भय र धादलीरहित हुन नसकेको दाबी गरेका छन्। बिहीबार संसद् बैठकमा बोल्दै प्रतिपक्षका कारण कुनै स्थानमा निर्वाचन स्थगित नभएको उनले स्पष्ट पारे।
उनले सत्ता गठबन्धनको घोषित गरेको पत्तासाब गराउने नीति निर्वाचनको क्रममा प्रकट भएको दाबी गरे । निर्वाचन हुन नसकेका स्थानमा सत्ता गठबन्धनकै कारण स्थगित भएको उनले बताए। उनले मोर्चाबन्दीले नपुगेर सत्ता गठबन्धन धाँधलीमा उत्रिएका स्पष्ट पारे।

पञ्चायतकालमा समेत नभएको यसपटक राज्य संयन्त्रको दूरुपयोग गरेर सत्ता गठबन्धनले निर्वाचन गराएको उनले दाबी गरे। ओलीले सत्ता पक्षकै कारण निर्वाचन भएको १४ दिनसम्म सबै स्थानीय तहको नतिजा आउन नसकेको आरोप लगाए।
पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले १४ दिनसम्ममा पनि मतपरिणाम आउन नसकेको बताउँदै भने, ‘आज १४ दिन भयो । परिणाम किन आइरहेको छैन ? निर्वाचन स्वच्छ हुन सकेन । धाँदलीरहित हुन सकेन । सत्ता पक्षले बुथ कब्जा गरेको ठाउँमा प्रहरी निरीह भएर बसेको छ ।’

