काठमाडाैं । प्रधान सेनापति प्रभुराम शर्मा नेपाली शान्ति सैनिक तनाथ रहेको लेबनान र सिरियाको निरीक्षण भ्रमणमा जाने भएका छन्।
सैनिक जनसम्पर्क तथा निर्देशनालयका अनुसार शर्मा असार ४ देखि असार १० सम्म ती दुबै देशको भ्रमणमा निस्किन लागेका हुन् । युएन मिसनका विविध पक्ष एवम् भावी योजनाका बारेमा जानकारी लिन शर्मा भ्रमणमा निस्किन लागेको निर्देशनालयले जनाएको छ।

भ्रमणमा प्रधान सेनापति शर्मासहितको टोलीले मिसनहरूको वस्तुस्थिति, अपरेशनल गतिविधि, फौज तैनाथीको अवस्था लगायत पक्षबारे जानकारी लिने छन्। त्यस्तै, उक्त राष्ट्र तथा शान्ति मिशनका उच्च पदस्थ अधिकारीहरूसँग शर्माले भेटघाट गर्नेछन् ।
निर्देशनालयका अनुसार त्यसपछि प्रधान सेनापति शर्मा अमेरिकाको औपचारिक निमन्त्रणामा असार १३ देखि १७ सम्म भ्रमणमा जानेछन् । त्यसक्रममा ती मिसनहरुको वस्तुस्थिति, अपरेसनल गतिविधि, फौज तैनाथीको अवस्था लगायतका पक्षका बारेमा जानकारी लिने र राष्ट्र तथा शान्ति मिसनका उच्च पदस्थ अधिकारीसँग शर्माले भेटघाट गर्ने सेनाले जनाएको छ, जहाँ शान्ति सेनामा नेपाली सेनाहरुको सहभागिता वृद्धि लगायतका विषयमा छलफल हुने भएको छ ।
निरीक्षण भ्रमणबाट द्वन्द्वग्रस्त क्षेत्रमा तैनाथ फौजको हौसला अभिवृद्धि हुनुका साथै उच्च पदस्थ अधिकारीहरुसँगको भेटघाटबाट द्विपक्षीय आपसी हित तथा पारस्परिक सम्बन्ध थप वृद्धि हुने विश्वास लिएको नेपाली सेनाले जनाएको छ ।

