मकवानपुर । हेटौँडामा जारी चौथो संस्करणको स्थानीय तह शहीद स्मृति मकवानपुर गोल्डकप अन्तरगत सोमबार भएको खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लब सेमिफाइनल प्रवेश गरेको छ ।
हेटौँडा–५, स्थित पिप्ले रङ्गशालामा भएको निकै नै रोमाञ्चक खेलमा सशस्त्र प्रहरीको नेपाल एपीएफ क्लबलाई ट्राईब्रेकरमा पराजित गर्दै आर्मीले सेमिफाइनल यात्रा तय गरेको हो । ट्राईब्रेकरमा एपीएफलाई ५–४ गोल अन्तरले पराजित गर्दै आर्मी सेमिफाइनल प्रवेश गरेको हो ।

खेलको पहिलो हाफमा एपीएफका कप्तान टोपबहादुर विष्टको ह्यान्डबलमा आर्मीले पेनाल्टी पाएको थियो । तर आर्मीका विवेक बस्नेतको प्रहारलाई एपीएफका गोलकिपर राजु नगर कोठीले बचाए र पहिलो हाफ गोल रहित बराबरीमा सकियो । दोस्रो हाफमा एपीएफले सुधारिएको प्रदर्शन देखाए पनि दोस्रो पटक पाएको पेनाल्टीलाई सदुपयोग गर्दै आर्मीका दिनेश हेन्जनले टिमलाई एक–शून्यको अग्रता दिलाए । तर, अतिरिक्त समयको पाँचौँ मिनेटमा एपीएफका सुदीप शिखरकारले गोल गर्दै खेललाई ट्राईब्रेकरमा पुर्याए ।
ट्राईब्रेकरमा आर्मीका दीपक गुरुङ, सिमन्त थापा मगर, सन्तोष केसी, कमलबहादुर थापा र दिनेश हेञ्जन गोल गर्न सफल भए भने एपीएफका लागि नवीन लामा, सुदीप शिखरकार, सनिश श्रेष्ठ र रवि थिङले गोल गर्दा मणि लामाको प्रहारलाई आर्मीका गोलकिपर विकेश कुथुले बचाए । खेलको म्यान अफ दी म्याच पनि गोलकिपर विकेश कुथु घोषित हुँदै नगद दश हजार प्राप्त गरे । आर्मीले अब चर्च ब्वाइज क्लब र एभेनिर एफसी, क्यामरुन बिचको विजेतासँग खेल्नेछ ।
प्रतियोगिताको विजेताले उपाधिसँगै १५ र उपविजेताले १० लाख रुपैयाँ प्राप्त गर्नेछन् । त्यस्तै व्यक्तिगत विधामा उत्कृष्ट खेलाडीलाई २५/२५ हजार नगद र ट्रफी प्रदान गरिने छ । प्रतियोगितामा सर्वोत्कृष्ट हुने खेलाडीले मोटरसाइकल प्राप्त गर्नेछन् ।

