काठमाडौँ । प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले स्टेट पार्टनरसिप प्रोग्राम (एसपिपी) का विषयमा जवाफ दिन नेपाली सेनाका प्रधान सेनापति प्रभुराम शर्मालाई बोलाएको छ।
अमेरिकी दूतावासले नेपालले एसपिपीमा सहभागी हुन दुईपटक अनुरोध गरेको उल्लेख गरे पनि बुधबार नेपाली सेनाले एक विज्ञप्ति जारी गरी एसपिपीबारे कुनै सम्झौता वा समझदारी नभएको दाबी गरेको थियो। यद्यपि ७ वर्षअघि नेपाली सेनाका तत्कालीन प्रधान सेनापति राजेन्द्र क्षेत्रीले सरकारको अनमतिअनुसार एसपिपीमा सहभागी हुन अमेरिकालाई अनुरोध गरी पत्र पठाएको बिहीबार सार्वजनिक भएको छ।

प्रधानमन्त्री शेरबहादुर देउवाको यसै महिना हुने अमेरिका भ्रमणका बेला एसपीपी सम्झौता गर्न लागेको सूचना बाहिरिएपछि यसको चौतर्फी विरोध भएको थियो । संसदमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेताले यसको विरोध जनाउँदै एसपीपी सम्झौता नगर्न प्रधानमन्त्रीलाई आग्रह गरेका थिए ।
एसपीपी धेरै विरोध भएपछि अमेरिकी दूतावासले बुधबार पत्रकार सम्मेलनको आयोजना गरी स्पष्ट पारेको थियो । पत्रकार सम्मेलनमा दूतावासले एसपीपी सम्झौताको प्रस्ताव अमेरिकाले गरेको नभई नेपाली सेना र नेपाल सरकारले गरेको जनाएको थियो ।
अमेरिकी दूतावासले पत्रकार सम्मेलन गरेको केही मिनेटपछि नै नेपाली सेनाले त्यसको खण्डन गरेको थियो । सेनाले बुधबार नै एक विज्ञप्ति जारी गरी एसपीपी सम्झौता गर्न सेनाले हालसम्म कुनै पक्रिया अघि नबढाएको र यस्तो सम्झौता गर्न नहुने स्पष्ट शब्दमा भनेको थियो ।
पत्र सार्वजनिक भएपछि प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले प्रधानसेनापति शर्मालाई शुक्रबार ९ बजे बोलाएको हो। बैठकमा प्रधानसेनापति शर्मासँगै परारष्ट्रमन्त्री नारायण खड्का, परराष्ट्र सचिव भरतराज पौड्याल र रक्षा सचिव, किरणराज शर्मालाई समेत बोलाइएको छ।

