काठमाडौं । प्रधानसेनापति महारथी प्रभुराम शर्मा लेवनान भ्रमणमा निस्किएपछि कायममुकायम प्रधानसेनापतिको जिम्मेवारी बलाधिकृत रथी बालकृष्ण कार्कीलाई तोकिएको छ। प्रधानसेनापति शर्मा शनिबार लेवनान प्रस्थान गरेकाले कायममुकायम प्रधान सेनापतिको जिम्मेवारी बलाधिकृत रथी कार्कीलाई दिइएको हो।
शर्माको भ्रमणको अवधिभर उनको अनुपस्थितिमा बलाधिकृत रथी कार्कीले कायम मुकायम प्रधान सेनापतिको कार्यभार सम्हाल्ने नेपाली सेनाले जनाएको छ।

‘प्रधान सेनापति महारथी शर्मा लगायतको भ्रमणदलले असार ०४ गते देखि असार १० गतेसम्म संयुक्त राष्ट्रसंघको आव्हानमा शान्ति स्थापनार्थ नेपाली शान्ति सैनिकहरु तैनाथ लेवनानस्थित युएनआएएफआइएल मिसन र तत्पश्चात सिरियास्थित युनएनडिओएफ मिसनको निरीक्षण भ्रमण गरी विविध पक्षहरुका बारेमा जानकारी लिनेछन्’, विज्ञप्तिमा भनिएको छ, ‘उनले लेवनान, सिरिया, युएनआएएफआइएल मिसन र युनएनडिओएफ मिसनका उच्च पदस्थ अधिकारीहरुसँग भेटघाट गर्ने छन्।’
लेवनान भ्रमणपश्चात प्रधान सेनापति शर्माको ५ सदस्यीय टोली अमेरिका भ्रमणमा जाने छन्। प्रधानसेनापति शर्मा असार १३ गतेदेखि असार १७ गतेसम्म ५ दिन अमेरिकाको औपचारिक भ्रमणसमेत गर्ने नेपाली सेनाले जनाएको छ। सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालय, जंगी अड्डाले जारी गरेको विज्ञप्तिमा शर्मा असार १९ गते नेपाल फर्कने उल्लेख छ।

