काठमाडाैं । लेबनान भ्रमणमा रहेका प्रधानसेनापति प्रभुराम शर्माले बुधबार त्यहाँका राष्ट्रपति मिचेल औनसँग भेटवार्ता गरेका छन् ।
उक्त भेटघाटको क्रममा, लेबनानका राष्ट्रपति औनले नेपाली शान्ति सैनिकको योगदान, विशेष गरी लेवनानमा शान्ति स्थापनाका लागि ३१ जना नेपाली शान्ति सैनिकले गरेको बलिदानको प्रशंसा गर्नुका साथै उनले लेबनानी स्थानीय समुदाय र नेपाली शान्ति सैनिकबीचको उत्कृष्ट सम्बन्ध, पर्यावरण संरक्षण र अन्य सामुदायिक परियोजनामा नेपाली शान्ति सैनिकले पुर्याएको योगदानको समेत उच्च प्रशंसा गरेका थिए ।

प्रधानसेनापति शर्माले राष्ट्रपति विद्यादेवी भण्डारीको तर्फबाट लेबनानका राष्ट्रपति तथा सम्पूर्ण लेबनानी जनतालाई पठाएको सद्भावना सन्देश जानकारी गराउँदै लेबनानी सरकारले नेपाली शान्ति सैनिकलाई गरेको समर्थन तथा सहयोगका लागि लेबनानका राष्ट्रपतिलाई धन्यवाद व्यक्त गरेका थिए । सोही क्रममा, प्रधान सेनापति महारथी शर्माले नेपालका राष्ट्रपतिको तर्फबाट लेवनानका महामहिम राष्ट्रपति तथा सम्पूर्ण लेवनानी जनतालाई पठाएकाे सद्भावना सन्देश जानकारी गराईएकाे थियाे ।
साथै लेवनानी सरकारले नेपाली शान्ति सैनिकहरुलाई गरेको समर्थन तथा सहयोगका लागि लेवनानका महामहिम राष्ट्रपतिलाई धन्यवाद व्यक्त गरिएको जानकारी नेपाली सेनाले दिएकाे छ । प्रधान सेनापति शर्मा त्यहाँको भ्रमण सकेर बुधबारै सिरिया प्रस्थान गरेका छन् ।

