काठमाडौँ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा.चुमनलाल दासले हैजाको प्रकोप देखिन सक्ने सम्भावना हेरेर अस्पतालहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिएको जानकारी दिनुभएको छ ।

प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिको आज सिंहदरबारमा बसेको बैठकमा निर्देशक दासले हालसम्म नेपालमा १२ जनामा हैजाको जीवाणु देखिएको र ८ जना निको भएर घर फर्किसकेको जनाकारी गराउनुभयो ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डाक्टर दासले बाँकी ४ जना बिरामीको टेकु पाटन र बयोधा अस्पतालमा उपचार भइरहेको जानकारी बैठकलाई गराउनुभयो ।

बागबजार, सानेपा र डिल्लीबजार क्षेत्रको पानीमा हैजाको जीवाणु भेटिएको जानकारी गराउनुहुँदै उहाँले नमुना परीक्षण गर्दा, बोरिङ, पम्प, जार र काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले वितरण गरेको पानी पनि प्रदूषित पाइएको बताउनुभयो ।

काठमाडौँ उपत्यकाबाहेक पनि केही प्रदेशहरूमा नमुना परीक्षण भइरहेको उहाँले बताउनुभयो ।

डा. दासले सीमानाकामा भारतबाट आउनेहरूमा कोरोना परीक्षण सुरु गरिएको र उनीहरूमा कोरोनासँगै मलेरिया संक्रमण पनि भेटिएको जानकारी गराउनुभयो ।

बैठकमा सांसदहरू मीनबहादुर विश्वकर्मा, तिलबहादुर महत, जगतबहादुर विश्वकर्मा, अन्जना विशंखे लगायतले हैजाले महामारीको रूप लिन सक्ने भन्नुहुँदै सरकारी निकायसँगै नागरिकहरू पनि सचेत हुनुपर्नेमा जोड दिनुभयो ।

उहाँहरूले कोरोना भाइरस संक्रमण बढ्दै गएकाले सरकारले स्वास्थ्य सुरक्षा मापदण्डलाई कडाइ गर्नुपर्ने र कल्याणकारी राज्यको अवधारणाका आधारमा औषधिको मूल्य निर्धारण गर्नुपर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय