काठमाडौं । डा. गोविन्द केसीले आफूसँग विगतमा भएका सम्झौता सरकारले कार्यान्वयन नगरेको भन्दै फेरि सत्याग्रहमा बस्ने चेतावनी दिएका छन्।
मंगलबार विज्ञप्ति जारी गर्दै केसीले शिक्षा ऐनको प्रावधान अनुसार नेपालको मेडिकल शिक्षालाई गैरनाफामूलक बनाउने लगायत सम्झौता सरकारले कार्यान्वयन नगरेको बताएका छन्। उक्त सम्झौताहरू कार्यान्वयन नभए सत्याग्रह गर्ने चेतावनी दिएका हुन्।

विज्ञप्तिमा उल्लेख छ‚ “यो पृष्ठभूमिमा हामीसँग पटक पटक गरिएका सम्झौताहरू कार्यान्वयन गर्न र मागहरू पूरा गर्न नेपाल सरकारसँग जोडदार माग गर्दछौं, अन्यथा फेरि सत्याग्रह शुरू गर्नुपर्ने अवस्था सिर्जना नहोस्।”
यस्तै‚ विश्वविद्यालयका पदाधिकारी नियुक्तिको मापदण्ड सहित ऐनको व्यवस्था गर्ने‚ चिकित्सा शिक्षा आयोगका सहअध्यक्षबाट मन्त्रीहरूलाई हटाउने‚ चिकित्सा शिक्षामा उच्च मापदण्ड कायम गर्न र जनता र विद्यार्थीमुखी बनाउन नागरिक समाजले दिएको सुझाव कार्यान्वयन गर्ने र आवश्यक संशोधनका लागि सिफारिश गर्ने सम्झौता सरकारले कार्यान्वयन नगरेको उल्लेख गरेका छन्।
डा. केसीले जनसङ्ख्याको वृद्धि अनुसार सरकारी स्वास्थ्य केन्द्र र अस्पतालहरूको निर्माण गर्न‚ सरकारी अस्पतालमा टिकट, ल्याब परीक्षण र एक्स-रे लगायत आधारभूत स्वास्थ्य सेवाका लागि लिइँदै आइएको शुल्क नलिन‚ मापदण्ड नपुर्याई खोलिएका निजी स्वास्थ्य संस्था बन्द गर्न माग गरेका छन्।

