काठमाडौं । उपत्यकामा एकाएक गुण्डागर्दी बढ्न थालेको छ । विशेषगरी ठमेल, दरबारमार्ग र गोंगबु क्षेत्रमा गुण्डागर्दी बढ्दै गएको व्यवसायीहरु नै बताउँछन् । शान्ति सुरक्षाको प्रत्याभूती गरी निर्धक्ककासाथ व्यवसाय गर्न नपाएको गुनासो गरेका छन् । किनकी ठमेलमा अहिले पुराना गुण्डा समूहहरु अहिले सल्बलाई सकेका छन् ।
तीन महिना अघि डान्स रेष्टरेन्टमा गएर युवतीमाथि हातपात गर्ने युवा संघका केन्द्रीय सदस्य वकिल बम पक्राउ परेको तीन दिनमै छुटेका थिए । बम ठमेलमा गुण्डाका रुपमा परिचित छन् । त्यस्तै पछिल्लो समय प्रहरी मुकदर्शक बन्दा प्रहरी इन्काउन्टरमा मारिएका कुमार श्रेष्ठ ‘घैंटे’ निकट गुण्डा सानुभाइ भन्ने युवराज गुरुङको गोंगबु र ठमेल क्षेत्रमा गुण्डागर्दी बढेको ठमेलकै व्यवसायीहरु बताउँछन् ।अहिले काठमाडौंमा अधिकांश गुण्डा नाइकेहरुलाई राजनीतिक संरक्षण रहेका कारण प्रहरीले चाहेर पनि केही गर्न सकेको छैन् ।

दुई साता अघि दरबारमार्गको प्लाटिनम डिस्कोमा बालुवाटारका प्रतिकभास्कर सिंहमाथि कुटिपिट गरी टाउको फुटाउने काभ्रेली गुण्डा कुलध्वज लामा ‘कुले’ यतिखेर दरबारमार्ग प्रहरीको हिरासतमा छन् ।
लिंकन स्कुलमा अध्ययनरत राम्रो परिवारका सिंह साथीभाइहरुसँग रमाइलो गर्न क्लवमा पुगेका थिए । तर, एक्कासी उनलाई कुले समूहले आक्रमण गर्दा टाउकोमा सात भन्दा बढी टाका लगाउनु परेको छ । सिंह नेपाली सेनाका एक जर्नेलका छोरा पनि हुन् ।
शुरुमा सार्वजनिकमा म्याद थपेको प्रहरीले कुलेमाथि ज्यानमार्ने उद्योगमा अनुसन्धान गरिरहेको छ । घटनामा संलग्न कुले समूहमा रहेका विशाल तामाङ, सञ्जय लामा (नमोबुद्ध नगरपालिकाका मेयर कुन्साङ लामाका भतिजा), डलर तामाङलगायत आधा दर्जन गुण्डाहरु फरार रहेका छन् ।
काभ्रे कांग्रेसको नेताहरु गृहमन्त्रीको नाममा कुलेलाई छुटाउन लागिपरेका छन् । उनीहरुले दरबारमार्ग बृत्तका डिएसपी विश्वराज खड्कालाई निरन्तर दबाब दिइरहेको प्रहरी स्रोत बताउँछ ।
डीएसपी खड्काले भने अपराधमा संलग्न ‘कुले’ भन्ने कुलध्वज लामालाई पक्राउ गरेर कारबाही शुरु गरिएको र घटनामा संलग्न अन्य गुण्डाहरुको खोजी भइरहेको बताएका छन् । कुले समूहको आक्रमणमा परी घाइते भएका सिंहको घर सुदूरपश्चिम रहेको र उनको बालुवाटारमा राम्रो सम्बन्ध रहेका कारण प्रहरीमाथि कुले समूहको आतंकलाई मत्थर पार्न दबाब परिरहेको छ ।
कुले समूह यसअघि सुन र डलर लुटपाटमा पनि संलग्न रहेको प्रहरीको भनाई छ । कुलेलाई २०७२ सालमा तत्कालिन महानगरिय अपराध महाशाखाले सुन लुटपाटमा पक्राउ गरी मुद्दा चलाएको थियो । यस्ता व्यक्तिलाई छुटाउन कांग्रेस नेताहरु नै लागेपछि प्रहरी अधिकारी समेत दिक्क भएका छन् ।

