मोरङ । सातवटा प्रदेशमध्ये प्रदेश नम्बर १ बाहेक सबै प्रदेशले प्रदेशको नामाकरण गरिसकेको छ ।
एकल पहिचान वा बहुपहिचानका आधारमा प्रदेशको नामाकरण गर्ने विवादका कारण प्रदेशसभाको पहिलो कार्यकाल बित्न लाग्दा समेत प्रदेश १ को नामाकरण हुन सकेको छैन ।

प्रदेश नम्बर १ को सबैभन्दा ठूलो दल नेकपा एमालेले जातिय वा सम्प्रदायको पहिचानबाहेक अन्य पहिचानका आधारमा नाम प्रस्तावित गरिरहेको छ ।
नेकपा एमालेले कोशी प्रस्तावित गरिरहेको बेला नेकपा माओवादी केन्द्र र नेकपा एकिकृत समाजवादी पार्टीले कोशी किराँत भनेर बहुपहिचान प्रस्तावित गरेको छ ।
उता प्रदेशसभाको दोश्रो ठूलो दल नेपाली कांग्रेसले भने भौगोलिक पहिचानलाई सहमतिको बिन्दु बनाउने गरी सप्तकोशी वा सगरमाथामा सहमति खोज्ने प्रयास गर्दै आएको नेपाली कांग्रेसका प्रमुख सचेतक सुयर्माराज राईले जानकारी दिनुभयो ।

