मोरङ । कांग्रेस केन्द्रीय सदस्य एवं विराटनगर महानगरका पूर्वमेयर भीम पराजुलीले कांग्रेसले धर्मनिरपेक्षता हटाउनुपर्ने बताएका छन् ।
बुधबार विज्ञप्ति जारी गर्दै पूर्व मेयर पराजुलीले सनातन धर्मको मूल्यमान्यताअनुसार हिन्दू धर्मलाई कांग्रेसले मूल एजेन्डा बनाउनुपर्नेमा जोड दिए। कांग्रेसको हितका लागि उनले पार्टीको केन्द्रीय कार्यसमिति बैठकमा धर्मनिरपेक्षता हटाउँदै धार्मिक स्वतन्त्रता कायम गर्न प्रस्ताव गर्ने जनाएका छन्।

धर्मसँगै पराजुलीले प्रदेश सरकार बलियो बनाउन सके जोड दिने नसक्दा हटाउनुपर्ने समेत बताएका छन्। अहिलेको अवस्थामा प्रदेश सरकार चलिरहे मुलुकमा बेथिति, जनतामा वितृष्णा बढ्दै चरम आर्थिक संकट निम्तिने खतरा देखिएको उनले बताए।
पार्टीको कामकारबाहीप्रति समेत उनले आक्रोश पोखेका छन्। पार्टीका विभिन्न तहका भ्रातृनिकायलाई पूणर्ता दिएर सक्रिय बनाउनुपर्नेमा उनले जोड दिए। विभिन्न ११ बँुदे विज्ञप्तिमा पराजुलीले स्थानीय तह निर्वाचनको नतिजा उपलब्धिमूलक रहेको बताए। यससँगै आउँदो प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि पार्टीभित्र आत्मीयताका साथ गठबन्धन गरी रणनीतिक रुपमा अघि बढ्नुपर्ने उनको सुझाव छ।
लोकप्रियता, योग्यता, क्षमता र पार्टीलाई दिएको योगदानलाई आधारमा आगामी निर्वाचनमा स्थान दिइनुपर्ने उनले बताए। उनले आगामी चुनावमा यही मुद्दा उठाएर जनतासामु जानुपर्नेमा जोड दिए । संघीयता या राम्ररी कार्यान्वयन गर्नुपर्ने या खारेज गरेर जानुपर्ने विषय पनि उठेको छ ।
काँग्रेसले वर्तमान संविधानलाई सबैभन्दा बढी समर्थन गरिरहेको छ । उसले धर्मनिरपेक्ष पक्षपातीका रुपमा आफूलाई उभ्याएको छ । तर, पार्टीभित्र धर्मनिरपेक्ष मुद्दा जोडतोडले उठ्नु अर्थपूर्ण छ ।

