काठमाडौ । नेकपा एमालेले पार्टीको दशौँ महाधिवेशन बुटवलमा आयोजना गर्ने घोषणा गरेको छ ।

पार्टीले मंसिरमा हुने पार्टीको दशौँ महाधिवेशन बुटवलमा गर्ने घोषणा गरेको हो । शुक्रबारदेखि भएको पार्टीको प्रथम विधान महाधिवेशनको समापन समोरोहलाइ सम्बोधन गर्दै आइतबार अध्यक्ष केपी शर्मा ओलीले बुटवलमा दशौँ राष्ट्रिय महाधिवेशन हुने घोषणा गरेका हुन् ।

साथै, विधान महाधिवेशनमा तीन वटा प्रस्ताव पारित भएको छ । महाधिवेशनमा पार्टीको संशोधित विधान पनि पारित भएको छ ।

यसअघि बोल्दै अध्यक्ष ओलीले अताल्लिएर नयाँ पार्टीमा गएका एमालेका नेता कार्यकर्तालाई एमालेमै फर्किन आग्रह गर्नुभयो । ओलीले नेकपा एकीकृत समाजवादीमा गएका सच्चा एमाले कार्यकर्तालाई पार्टीमा फर्कन आग्रह गर्नुभएको हो । उहाँले एमालेमा फर्किने वातावरण बनाउन स्थानीय तहदेखि नै पहल गर्न नेताहरुलाई निर्देशनसमेत दिनुभएको छ ।

अध्यक्ष ओलीले एमालेको सरकार ढाल्न सारा शक्ति लागेको आरोप लगाउँदै सरकार ढाल्न जो जो लागे ती सबै शत्रु भएको बताउनुभयो । एमालेको सरकारउहाँले कुस्ती खेलाडीलाई विपक्षीले अलिअलि प्रहार गरेन भने जीतको रणनीति बनाउन गा¥हो हुने भन्दै अब एमालेले सशक्त रणनीति बनाउने पनि अठोट व्यक्त गर्नुभयो । जितेर सरकारमा गएकाले फेरि पनि जितेरै सरकारमा जाने उहाँको दृढता छ ।

यसैबीच, एमालेमा एक व्यक्तिले दुईपटकभन्दा बढी कार्यकारी पदमा उम्मेदवार बन्न नपाइने व्यवस्था गरिएको छ । पहिलो विधान महाधिवेशनमा उठेको सवालहरूको जवाफ दिँदै उपमहासचिव विष्णु पौडेलले कुनै नेताले जिते पनि हारे पनि दुईपटकभन्दा बढी उमेदवार बन्न नपाइने व्यवस्था गरिएको बताउनुभयो । उहाँले एउटै कार्यकारी पदमा एकै व्यक्ति दुईपटकभन्दा बढी उमेदवार बन्न नपाइने व्यवस्था गरिएको पनि जानकारी दिनुभयो ।

यस्तै उमेरहदको सम्बन्धमा पनि ७० वर्ष कायम गरिएको छ । कुनै व्यक्ति ७० वर्ष नपुग्दासम्म पदमा लड्न र बसेर काम गर्न पाउने छन् । तर कार्यकालको बीचमा ७० वर्ष पुगे वा कटे उसलाई त्यो कार्यावधिभर काम गर्न पदमा बस्न पाउने व्यवस्था गरिएको पौडेलले बताउनुभयो । यसबाट वर्तमान अध्यक्ष ओली यदि मंसिरमा फेरि अध्यक्ष बनेका खण्डमा उहाँले पूर्ण कार्यकाल काम गर्न पाउनु हुनेछ । उहाँ फागुनमा ७० वर्ष पुग्दै हुनुहुन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय