काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको व्यवसाय ६२.१९ प्रतिशतले बढेको छ । इन्स्योरेन्सले प्रकाशित गरेको गत आर्थिक वर्षको अपरिष्कृत वित्तीय विवरणअनुसार कम्पनीले एक वर्षको अवधिमा आफ्नो व्यवसायमा सो मात्राले बढाई १० अर्ब ३८ करोड रुपैयाँ पुर्याएको हो ।
जुन अघिल्लो आर्थिक वर्षमा ६ अर्ब ४० करोड रुपैयाँमा सीमित थियो । हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब ४० करोड रुपैयाँ छ । त्यस्तै, जगेडा कोषको रकम बढेर १ अर्ब नाघेको छ भने जीवन बीमा कोषमा ४ अर्ब ६० करोड रुपैयाँ सञ्चित छ । आर्थिक वर्ष २०७७/७८ मा इन्स्योरेन्सको जीवन बीमा कोषमा २ अर्ब ५८ करोड रुपैयाँ थियो । र, महाविपत्ति जगेडाको पनि रकम बढेर १० करोड रुपैयाँ नाघेको छ ।

त्यस्तै, समीक्षा अवधिमा इन्स्योरेन्सले २७ करोड ४८ लाख रुपैयाँ बराबरको खुद नाफा आर्जन गरेको छ । जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा २१.६४ प्रतिशतले बढी हो । इन्स्योरेन्सले अघिल्लो आर्थिक वर्षमा २२ करोड ५९ लाख रुपैयाँ बराबरको खुद नाफा आर्जन गरेको थियो ।
त्यस्तै, इन्स्योरेन्सको प्रतिसेयर आम्दानी १६.१४ रुपैयाँबाट बढेर १९.६३ रुपैयाँ पुगेको छ । त्यस्तै, प्रतिसेयर नेटवर्थ पनि करिब २० रुपैयाँले बढेर १८५.५९ रुपैयाँ पुगेको छ । हासम्म इन्स्योरेन्सले १० हजार ३८ वटा बीमा दावीको १ अर्ब १७ करोड रुपैयाँ बराबरको भुक्तानी गरिसकेको छ ।

