काठमाडौं । पूर्वयुवराज्ञी हिमानी शाह सिड्नी आइपुग्नुभएको छ । हिमानी ट्रस्ट अष्ट्रेलियाले जानकारी दिएअनुसार हिमानी ट्रष्टकी संस्थापक एवम् पूर्वयुवराज्ञी शाह हिमानी कोष अष्ट्रेलियाको आयोजनामा हुन लागेको विभिन्न कार्यक्रममा सहभागी हुन मंगलबार सिड्नी आइपुग्नुभएको हो ।
हिमानी कोष अष्ट्रेलियाले आयोजना गर्न लागेको कार्यक्रमको उद्देश्य हिमानी ट्रस्ट नेपालको नेतृत्वमा रहेको ‘एक्सेस टु क्लिन ड्रिङ्किङ वाटर प्रोजेक्ट’लाई सहयोग गर्न कोष जुटाउनु रहेको बताइएको छ । यस परियोजनाले नेपालका बाढीप्रभावित क्षेत्रका दश हजार भन्दा बढी पिछडिएका बालबालिकालाई सेल्फ फिल्ट्रेसन वाटर बोतलको सुरक्षित पिउने पानी उपलब्ध गराउने लक्ष्य राखेको छ।

कार्यक्रममा वक्ताको रुपमा न्यू साउथवेल्सकी महानगर सडक, महिला सुरक्षा र पारिवारिक हिंसा रोकथाम मन्त्री नटाली पेटा वार्डले सहभागिता जनाउने हिमानी कोष अष्ट्रेलियाकी अध्यक्ष अन्जना बस्नेत कार्कीको भनाइ छ । बताइएअनुसार हिमानी ट्रष्ट अष्ट्रेलियाले अगष्ट १२ का दिन पनि एक कार्यक्रमको आयोजना गर्ने छ । यो कार्यक्रममा न्यूसाउथवेल्सका बहुसांस्कृतिक मन्त्री मार्क कुरेको समेत सहभागिता रहने छ । पहिलोपटक अष्ट्रेलिया आउनुभएकी पूर्वयुवराज्ञी शाहको आगमनलाई सिड्नीमा रहनुहुने प्रबासी नेपालीहरूले निकै महत्वका साथ हेरिरहेका छन् ।

