काठमाडौं । कुनै समय सञ्चित घाटा रु ३२ अर्ब बराबर पुगेको नेपाल विद्युत् प्राधिकरणले नाफामा वृद्धि गर्न सफल भएको छ । पछिल्लो पटक प्राधिकरणको वार्षिक नाफा करिब १६४ प्रतिशतले वृद्धि भएको छ । आर्थिक वर्ष २०७७/७८ मा रु छ अर्ब १० करोड खुद नाफामा सीमित भएको प्राधिकरणले आव २०७८/७९ मा नाफालाई बढाएर रु १६ अर्ब नौ करोड बराबर पुग्ने प्रक्षेपण गरेको छ ।

प्राधिकरणको आव २०७८/७९ को वित्तीय विवरण (अपरिष्कृत) अनुसार वार्षिक आम्दानी रु एक खर्ब नाघेको कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए । योसँगै सार्वजनिक संस्थाहरुमध्ये सबैभन्दा बढी आम्दानी भएको र नाफा आर्जन गर्ने संस्थाका रुपमा प्राधिकरण स्थापित भएको छ ।

“ऊर्जा खपत २७ प्रतिशत वृद्धि हुँदा बिक्री आम्दानी बढ्यो, विद्युत् निर्यात वृद्धि भयो, प्राधिकरणका स्वामित्वका विद्युत् गृहबाट विद्युत् उत्पादन करिब १६ प्रतिशतले वृद्धि गर्न सफल भयौँ, विद्युत् चुहावट घट्यो, प्रभावकारीरुपमा खर्च नियन्त्रण गरियो, अन्य आम्दानी बढ्यो, यसले गर्दा प्राधिकरणको खुद नाफा बढेको हो” कार्यकारी निर्देशक घिसिङले भने ।

आव २०७२/७३ मा रु आठ अर्ब ८९ करोड घाटामा रहेको प्राधिकरण त्यसपछिका वर्षहरुमा निरन्तर नाफामा छ । आव २०७३/७४ मा रु एक अर्ब ५० करोड नाफा कमाउँदै प्राधिकरणले नाफालाई आव २०७६/७७ मा रु ११ अर्ब ७५ करोड पु¥याएको थियो । तर, आव २०७७/७८ मा भने घटेर रु छ अर्ब १० करोडमा झरेको थियो ।

विद्युत् आपूर्ति भरपर्दो र गुणस्तरीय हुँदै गएपछि यसको प्रत्यक्ष सकारात्मक प्रभाव प्राधिकरणको वित्तीय अवस्थामा परेको घिसिङले बताउनुभयो । प्राधिकरणले विद्युत् बिक्रीबाट रु ८८ अर्ब आम्दानी गरेको छ । विद्युत् महसुल सङ्कलन विनियमावली बमोजिम समयमै महसुल तिर्ने ग्राहकलाई करिब रु ९८ करोड छुट दिइएको छ । यसबाट विद्युत् बिक्रीबाट रु ८७ अर्ब खुद आम्दानी भएको छ । जुन अघिल्लो आवको तुलनामा २२ प्रतिशतले बढी हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय