विराटनगर । सामूहिक बलात्कार आरोपमा विराटनगरबाट पक्राउ परेका कराँतेका दुई जना प्रशिक्षक कारागार चलान भएका छन् ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप)का स्थायी प्रशिक्षक विराटनगर महानगरपालिका-३ का विनोद राउत र विराटनगर-४ का सुरज भनिने अमर सुवेदीलाई जिल्ला अदालत मोरङले पुर्पक्षका लागि थुनामा राख्न सोमबार आदेश दिएको हो।

न्यायाधीश राजेशकुमार कटवालको इजलासले आदेश दिएपछि उनीहरुलाई कारागार चलान गरिएको जिल्ला अदालत मोरङका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले बताए।
उनका अनुसार तत्काल प्राप्त प्रमाणका आधारमा पछि ठहरे बमोजिम हुने गरी दुवै जनालाई थुनामा राख्न इजलासले आदेश दिएको हो।
राउत र सुवेदीविरुद्ध दर्ता भएको जबरजस्ती करणी मुद्दामा आइतबार र सोमबार थुनछेक बहस भएको थियो। बुढाथोकीका अनुसार वादी नेपाल सरकार र प्रतिवादीतर्फका कानुन व्यवसायीबीच बहस सकिएपछि अदालतले कारागार चलानको आदेश गरेको हो।

