काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगरभित्र अनधिकृत रूपमा निर्माण गरिएका संरचना हटाउने अभियानलाई तीव्र बनाएको छ । यसक्रममा सुन्धारास्थित काठमाडौं मलमा बनेको अनधिकृत संरचनामा महानगरले डोजर लगाएको छ ।
महानगरका मेयर बालेन्द्र साहकै उपस्थितिमा डोजर लगाएर अनधिकृत संरचना हटाइएको हो । कर्मचारी सञ्चय कोषको स्वामित्वमा रहेको काठमाडौं मलका सटरहरू भाडामा लिएकाहरूले अनधिकृत रूपमा नक्साविपरीतका संरचना बनाएर उपयोग गरिरहेको गुनासो आइरहेको थियो ।

महानगरले यसक्रममा काठमाडौं उपत्यका प्रहरीसँग पनि सहायता लिएको छ । त्यहाँ भएका नक्सा पास भएका संरचना र पसलमा भने कुनै क्षति नपुर्याइएको महानगरले जनाएको छ । अनधिकृत रूपमा बनेका संरचनाका कारण पैदलयात्रीले सास्ती भोग्नु परिरहेको थियो भने पार्किङमा समेत समस्या थियो ।

