काठमाडौं । मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभाको निर्वाचन नजिकिएसँगै शीर्षस्थ नेताहरूको सक्रियता जिल्लामा बढेको छ। ‘डेन्जर जोन’मा परेका प्रधानमन्त्रीदेखि पूर्वप्रधानमन्त्रीसहित शीर्षस्थ नेताहरू सक्रिय भएर चुनावी प्रचारमा लागेका हुन् ।
प्रधानमन्त्री शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’,नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपाल, नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनाललगायत शीर्षस्थ नेताहरू जिल्ला केन्द्रित भएका छन् ।

गाउँमा बिरलै देखिने नेताहरू अहिले आफ्नो चुनाव क्षेत्रमा गएर सभा सम्मेलन र पार्टी संगठन बलियो बनाउने काममा लागिरहेका छन्। प्रचण्ड पछिल्लो समय चितवन केन्द्रित भएका छन्। जिल्लाभर विभिन्न स्थानमा हुने शिलान्यास, उद्घाटन र पार्टी कार्यकर्तालाई प्रशिक्षण दिन व्यस्त रहे। उनले ०७४ को निर्वाचनमा राप्रपाका विक्रम पाण्डेलाई करिब १० हजार मतान्तरले पराजित गरेका थिए।
प्रचण्डले ४८ हजार २७६ मत ल्याएर विजयी हुँदा पाण्डेले ३८ हजार ९३५ मत ल्याएका थिए। अहिले एमाले प्रचण्डविरुद्ध कडा रूपमा प्रस्तुत हुने भएकाले उनलाई सहज छैन।
यता, सरकारले निर्वाचनको मिति घोषणा गरेलगत्तै एमाले अध्यक्ष ओली पनि गृहजिल्ला केन्द्रित छन्। उनी हालै झण्डै एक साता गृहजिल्ला झापा बसेर फर्किए। पछिल्लो समय गृह जिल्ला ओलीको आवागमन बाक्लिँदै गएको छ।
सत्ता बहिर्गमन र पार्टी विभाजनपछि ओलीको सक्रियता बढेको छ। वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा पनि ओली सक्रिय भएर लागेका थिए तर पार्टीले सोचेजस्तो परिणाम ल्याउन सकेन।
अहिले ओली झापा ५ बाट चुनाव लड्ने तयारीमा छन्। ०७४ सालको निर्वाचनमा एमाले-माओवादी गठबन्धन भएका वेला राप्रपासँगको सहयोगमा चुनाव जितेका थिए तर अहिले उनलाई त्यति सहज छैन।
ओलीले आगामी निर्वाचनमा पार्टी एकताबद्ध भएर सबैलाई चुनाव लाग्न निर्देशन समेत दिएका छन्। त्यसो त अहिले ओलीविरुद्ध सत्ता गठबन्धन लागेको छ। गठबन्धनले राप्रपालाई समेत झापा केन्द्रित भएर ओलीविरुद्ध मोर्चाबन्दीको लागि प्रस्ताव गरेको राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन बताउँछन्।
उनी भन्छन्, ‘हामीले गठबन्धनको विषयमा कुनै निर्णय गरेका छैनौँ। सत्ता गठबन्धन र एमालेसँग छलफल भए पनि कुनै निर्णय भएको छैन।’
ओलीविरुद्ध गठबन्धन लाग्दै गर्दा राप्रपा अध्यक्ष लिङ्देन पनि सुरक्षित छैनन्। ०७४ को निर्वाचनमा झापा ५ मा ओलीलाई सहयोग गरेको २ मा एमालेको साथमा जितेका थिए। अहिले पनि त्यही परिस्थिति दोहोरिने सम्भावना भए पनि निश्चित छैन।

