नेपालगञ्ज । बाँकेको कोहलपुरस्थित नेपालगञ्ज मेडिकल कलेजले मृर्गौला रोगीलाई अत्यावश्यक पर्ने डायलाइसिस सेवा बन्द गरेको छ ।
सरकारबाट पाउनुपर्ने रकम नपाएको भन्दै मेडिकल कलेजले शुक्रबारदेखि डायलाइसिस सेवा बन्द गरेको हो ।
यस मेडिकल कलेजमा दैनिक १८ देखि २० जनासम्मको डायलाइसिस हुँदै आएको थियो । तर, सेवा बन्द भएपछि बिरामी मर्कामा परेका छन् ।

कलेजमा डायलाइसिस सेवाको जिम्मा पाएको बिरङ्ग हेल्थ केयर प्रालिले शुक्रबारदेखि डायलाइसिस सेवा बन्द गरेको सूचना अधिकारी सञ्जय कुमार पन्तले जानकारी दिएका छन् । उनले सेवा सुचारी गर्न गराउन प्रयास गरिरहेको पनि बताए ।
बिरङ्ग हेल्थ केयरका म्यानेजर शिशिर शाहले एक वर्षदेखि भुक्तानी नपाएकाले बाध्य भएर शुक्रबारदेखि डायलाइसिस सेवा बन्द भएको बताएका छन् । उनका अनुसार बिरामीले अस्पतालमा जतिपटक डायलाइसिस गराएपनि एकपटकमा २५ सय रुपैयाँको दरले निःशुल्क सेवा पाउने गरेका छन् । उक्त सेवा दिएबाफत् सरकारले सम्बन्धित अस्पताललाई रकम उपलब्ध गराउँछ ।

