काठमाडौं । विभिन्न मितिमा लागुऔषधसहित पक्राउ परेका १५ जनालाई प्रहरीले सार्वजनिकसमेत गरेको छ । उनीहरुलाई लागुऔषध (नियन्त्रण) ऐन २०३३ अनुसार अदालतबाट म्याद थप गरी अनुसन्धान जारी रहेको प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरो काठमाडौँले जनाएको छ ।
प्रहरीले ललितपुरको भोलाखेलका सञ्जय कपाली, र रामेछापको मन्थलीका २७ वर्षीय कुमार तामाङलाई नियन्त्रित लागुऔषध ब्रुप्रोनोर्फिन ३१ एम्बुपल, डाइजेपाम ३१ एम्पुल र फेनारगन ३० एम्पुलसहित पक्राउ गरेको हो ।

यस्तै ललितपुरका २९ वर्षीय अनिश महर्जन तथा सप्तरीका धर्मदेव रामलाई पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ । खैरो हेरोइनसहित ललितपुरका प्रताप कार्की, पाँचथरका भुवन विक र देङ्हाङ नेम्वाङ पनि पक्राउ परेका छन् ।
यस्तै काठमाडौंको माकलबारीका उत्सव घिमिरे, भोजपुरका दोर्ची शेर्पालाई पनि खैरो हेरोइनसहित र उक्त खैरो हेरोइन कारोबारमा संलग्न भोजपुरका फुर्लामी शेर्पा, अप्सरा राजवंशी, नौसाद आलम पक्राउ परेका छन् । उनीहरुबाट रु १० लाख ४० हजार नगदसमेत बरामद गरिएको छ ।
प्रहरीले १५ जनाबाट खैरो हेरोइन २८७.५ ग्राम, गाँजा दुई किलो, अन्य लागुऔषध २५२ एम्पुल, डिजिटल तराजु, मोबाइललगायत सुामगीसमेत बरामद गरेको छ ।

