काठमाडौं । काठमाडौँ महानगरपालिकाले लामो समयदेखि कर नबुझाएका नेपाली सेनाको मुख्यालय, प्रहरी प्रधान कार्यालय, समाज कल्याण परिषद् लैनचौरलगायत १० करदातालाई आगामी १० दिनभित्र बहाल कर बुझाउन पत्राचार गरेको छ ।
पत्रमार्फत पटक पटक आग्रह गर्दा पनि बहाल कर नतिरेपछि कामपा राजस्व विभागले आज फेरि १० दिनको मिति तोकेर उक्त समयभित्र सम्बन्धित वडा कार्यलयमा कर बुझाउन पत्र पठाएको हो ।

कामपा राजस्व विभागका प्रमुख डा शिवराज अधिकारीले तोकिएको समयसीमाभित्र पनि तोकिएको शीर्षकअनुसार कर असुलउपर नभए राजस्व ऐन, २०७५ बमोजिम कारबाही गरी सरकारी बाँकी सरह उपर गरी आवश्यक प्रक्रिया अगाडि बढाउने बताउनुभयो ।
आज पत्राचार गरिएकामा शङ्करदेव क्याम्पस, रत्नराज्य लक्ष्मी क्याम्पस, नेपाल ल क्याम्पस, वीर अस्पताल, दशरथ रङ्गशाला, सरस्वती क्याम्पस र नेपाल कमर्स क्याम्पसलाई पनि बहालकर तिर्न पत्राचार गरेको छ ।

