काठमाडौं । विगतमा अख्तियार, अदालतमा सेटिङ गरेर उम्कँदै आएका मेडिकल माफिया भनेर चर्चित विशाल पण्डितमाथि यसपटक अख्तियारले कारबाही थालेको छ । यसपटक पनि अख्तियारको कारबाहीबाट बच्न पण्डितले पूरै शक्ति लगाएका थिए । तर, प्रमुख आयुक्त प्रेम राईको स्वच्छ छविका कारण पण्डितलाई उन्मुक्ति दिन अख्तियारका आयुक्तहरुले आँट गर्न सकेनन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मेडिकल व्यवसायी पण्डितलगायत सात जनाविरुद्ध भ्रष्टाचारको अभियोगमा मुद्दा दायर गरेको छ । अख्तियारले हस्पिटेक इन्टरप्राइजेज प्रालिका सञ्चालक विशाल पण्डित, कोशी प्रदेशको प्रदेश आपूर्ति व्यवस्थापन केन्द्र विराटनगरका बायोमेडिकल इञ्जिनियर कुशल दाहाल, स्वास्थ्य निर्देशनालय धनकुटाका निर्देशक चन्द्रदेव मेहता, लेखा अधिकृत डण्डसिंह बिक, खोप अधिकृत उदेश श्रेष्ठ विरुद्ध मुद्दा दायर गरेको छ । यसबाट स्वास्थ्य सामग्री खरिदमा भ्रष्टाचार गर्ने मेडिकल माफियाहरु झस्किएका छन् ।

अख्तियारले हस्पिटेक इन्टरनेशनल र बजार व्यवस्थापक लक्ष्मी आचार्यविरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर गरेको छ । कोशी प्रादेशिक अस्पतालमा कोरोना महामारीका बेलामा स्वास्थ्य उपकरण खरिदका क्रममा भ्रष्टाचार गरेको पुष्टि भएपछि अख्तियारले उनीहरुविरुद्ध दुई करोड ८९ लाख रुपैयाँ विगो मागदाबीसहित मुद्दा दायर गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको आपूर्ति ब्यवस्थापन शाखाबाट हुने स्वास्थ्य सामग्री खरिदको काम वर्षौंदेखि विशाल पण्डितका दुई कम्पनी हस्पिटेक इन्टरप्राइजेज र लाइफलाइनबाट सेटिङका आधारमा हुँदै आएको थियो । पण्डितका हस्पिटेक र लाइफलाइनले स्वास्थ्य उपकरणको ठेक्का ७० प्रतिशतभन्दा बढी पाउने गरेका छन् । यसरी सेटिङमा खरिद गरिएका सामानको मूल्य ४० लाखको उपकरणलाई २ करोडसम्ममा भिडाएको तथ्य र उजुरी विगतमा अख्तियारमै परेको भए पनि अख्तियारसँगको सेटिङमा पण्डित उम्कँदै आएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय