काठमाडौं । गण्डकी प्रदेशको मुख्यमन्त्री नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ । प्रदेश सभामुख कृष्णप्रसाद धिताललाई समेत गणना गरी दाबी पेस गरेका आधारमा मुख्यमन्त्री नियुक्त गरिएको भन्दै नेपाली कांग्रेसले सर्वोच्चमा रिट दायर गरेको हो ।

कांग्रेस गण्डकी प्रदेश संसदीय दलका नेता तथा पूर्वमुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले डेमोक्रयाटिक लयर्स एसोसिएसन (डिएलए–नेपाल)का अध्यक्ष वरिष्ठ अधिवक्ता सीताराम केसीमार्फत् मुद्दा दायर गराएका हुन् । एमाले संसदीय दलका नेता खगराज अधिकारीको मुख्यमन्त्री नियुक्ति र सो अनुसार गठित सरकार अवैधानिक रहेको कांग्रेसको दाबी छ । सभामुख तटस्थ व्यक्ति भएकाले संसदीय दलकै सदस्यका रूपमा गणना गरी कुनै दलका लागि बहुमत पुर्याउन नमिल्ने जिकिर रिटमा गरिएको छ । उक्त रिटको पेसी आज (२८ चैत) मा तोकिएको छ ।

मुख्यमन्त्री नियुक्ति मुलुकको संविधान, कानुन र स्थापित नजिर परम्पराविपतरीत देखिएकाले विपक्षी खगराज अधिकारीलाई मुख्यमन्त्रीको जिम्मेवारीमा रही कामकाज गर्न रोकी म निवेदकलाई नै उक्त प्रदेशको मुख्यमन्त्री पदमा निरन्तरताका लागि अन्तरिम आदेशसहितको उत्प्रेषणयुक्त परमादेश समेतको आदेश जारी गरिपाऊँ –सुरेन्द्रराज पाण्डे, नेता, कांग्रेस गण्डकी संसदीय दल

गएको आइतबार सभामुख कृष्ण धिताललाई माओवादी सांसदका रूपमा गणना गर्दै गरेको दाबीअनुसार प्रदेश प्रमुख डिल्लीराज भट्टले अधिकारीलाई मुख्यमन्त्री नियुक्त गरेका थिए । ६० सदस्यीय प्रदेशसभामा मुख्यमन्त्री नियुक्त हुन ३१ सांसदको समर्थन आवश्यक पर्नेमा अधिकारीले एमालेका २२, माओवादीका सभामुखसहित ८ र राजीव गुरुङ (दीपक मनाङे)को समर्थन रहेको भन्दै दाबी गरेका थिए ।

प्रदेश प्रमुख भट्टलाई विपक्षी बनाएर दायर रिटमा गण्डकीको मुख्यमन्त्री नियुक्ति मुलुकको संविधान, कानुन र स्थापित नजिर परम्पराविपरीत देखिएकोल अधिकारीलाई मुख्यमन्त्रीको जिम्मेवारीमा रही कामकाज गर्न रोक लगाउन आदेश माग गरिएको छ ।

‘विपक्षीहरूले आफूलाई हकै नपुग्ने विषयमा अधिकार क्षेत्रात्मक त्रुटि गरी कार्य गर्नुभएको, अधिकारको प्रयोग गर्दा प्रवृत्त भावना लिई गलत ढंगले प्रयोग गरेको निजहरूको बद्नियत र स्वेच्छाचारिताका कारणले निवेदक मेरा उपर भेदभाव र अन्याय हुन पुगेको, विपक्षीहरूका प्रत्येक काम कारबाहीहरू छलकपटपूर्ण भएको, मुलुकको संविधान कानुन र स्थापित नजिर परम्परा विपरित देखिएकाले,’ रिटमा भनिएको छ, ‘विपक्षी खगराज अधिकारीलाई मुख्यमन्त्रीको जिम्मेवारीमा रही कामकाज गर्न रोकी म निवेदकलाई नै उक्त प्रदेशको मुख्यमन्त्री पदमा निरन्तरताका लागि अन्तरिम आदेशसहितको उत्प्रेषणयुक्त परमादेश समेतको आदेश जारी गरिपाऊँ ।’

पाण्डेले २१ चैतमा मुख्यमन्त्रीबाट राजीनामा दिएपछि प्रदेश प्रमुख डिल्लीराज भट्टले २७ चैत ३ बजेसम्म मुख्यमन्त्री दाबी गर्न आह्वान गरेका थिए । मुख्यमन्त्री नियुक्त गर्न प्रदेश प्रमुखले दिएको समय बाँकी छँदै अधिकारीले आइतबार बिहान दाबी पेस गरेपछि उनी मुख्यमन्त्री नियुक्त भएका थिए । २७ चैतसम्मका लागि कामचलाउ सरकारको नेतृत्वमा आफू नै भएको भन्दै पाण्डेले यसमा पनि अन्तरिम आदेश माग गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय