काठमाडौं । नेपाल बाल संगठनको नाममा रहेको बालमन्दिरको २८ रोपनी ५ आना जग्गा हत्याउन एक व्यापारिक घराना विशाल ग्रुप नै योजनाबद्ध रूपमा लागेको पाइएको छ।
बालसंगठनका तत्कालीन पदाधिकारीलाई आर्थिक प्रलोभनमा पारी विशाल ग्रुपले बृहस्पति विद्या सदनमार्फत् २८ रोपनी ५ आना जग्गा विसं २१३२ सम्म आफ्नो स्वामित्वमा ल्याउने प्रपञ्च गरे पनि त्यो सफल नहुने भएको छ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले सरकारी जग्गालाई गैरकानुनी रूपमा सम्झौता गरी अनन्तकालसम्म प्रयोग गर्न दिने र लिने दुवै पक्ष गरी २० जनाविरुद्ध पक्राउ पुर्जी जारी गरी अनुसन्धान थालेको छ। तर, उनीहरू पक्राउ भने पर्न सकेका छैनन्। बाल संगठनको हालको नेतृत्वले पनि पुराना पदाधिकारीले गरेको गैरकानुनी सम्झौता रद्ध गर्ने निर्णय गरिसकेको छ।
विशाल ग्रुपले चलाखी अपनाउँदै बृहस्पति विद्या सदन र राई स्कुलको नाममा बालमन्दिरको जग्गामा रजाइँ गर्दै आइरहेको विभिन्न कागजातबाट सहजै पुष्टि हुन्छ । विशाल ग्रुपले बालमन्दिरको जग्गा हत्याउन बृहस्पति विद्या सदन र राई स्कुललाई अघि सार्दै आएको हो।
अहिले बृहस्पति र राई स्कुलको सेयर लागत हेर्दा विशल ग्रुपकै सदस्यहरूको नाममा बढी सेयर रकम भएको देखिन्छ । शुरूमा बृहस्पति विद्या सदन पुरुषोत्तमराज जोशीले सञ्चालन गरेको भए पनि अहिले उहाँको नाममा सेयर संख्या न्यून छ भने सेयर रकम र संख्यामा विशाल ग्रुपमै रहेकाहरूको वर्चस्व छ। जसअनुसार बृहस्पतिमा रहेका १४ जना सेयर सदस्यमध्ये प्रत्यक्ष अप्रत्यक्ष गरी अधिकांश विशाल ग्रुपकै रहेको पाइएको छ।
२०६९ वैशाख ३ गतेसम्म बृहस्पतिमा पुरुषोत्तमराज जोशी, मुरारीनिधि तिवारी, प्रवीणराज जोशी, प्रज्जवलराज जोशी र मिनुकुमारी जोशीसमेत ५ जनाको लगानी थियो। त्यसपछि भने क्रमशः विशाल ग्रुपका अग्रवाल परिवारको लगानी भएको देखिन्छ । अहिले आएर त बहुमतभन्दा बढी सेयर अग्रवाल परिवारकै रहेको पाइएको हो।

