काठमाडौँ । १० वर्षअघि भारतको सत्ता सम्हालेका प्रधानमन्त्री नरेन्द्र मोदी तेस्रो कार्यकालका लागि पनि प्रधानमन्त्री बनेका छन् । आइतबार साँझ प्रधानमन्त्री मोदीले राष्ट्रपति द्रौपदी मुर्मूसमक्ष शपथ लिएका छन् । नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि मोदीको शपथग्रहण कार्यक्रममा सहभागी हुन भारत पुगेका थिए । दाहालसँगै दक्षिण एसियाका अन्य राष्ट्रप्रमुख, सरकार प्रमुख तथा नेताहरू पनि समारोहमा उपस्थित थिए ।
लगातार तेस्रो पटक प्रधानमन्त्रीको शपथ लिनुअघि नरेन्द्र मोदी आइतबार बिहान महात्मा गान्धीको समाधि स्थल राजघाट पुगेका थिए । मोदीले गान्धीको समाधि स्थलमा पुष्पहार अर्पण गर्दै श्रद्धाञ्जली दिए । यसपछि उनले गान्धीसँगै पूर्वप्रधानमन्त्री अटल बिहारी बाजपेयीको समाधिमा पनि पुष्पाञ्जलि अर्पण गरे । प्रधानमन्त्री मोदीले राष्ट्रपति भवनमा आफ्नो मन्त्रिपरिषद्सहित शपथ लिए । मोदीलाई गत शुक्रबार राष्ट्रपति द्रौपदी मुर्मूले प्रधानमन्त्रीमा नियुक्त गरेकी थिइन् । जवाहरलाल नेहरुपछि तेस्रो पटक प्रधानमन्त्री बन्ने मोदी दोस्रो नेता हुन् ।

भर्खरै सम्पन्न १८औँ लोकसभा निर्वाचनमा मोदीको भारतीय जनता पार्टी (भाजपा) नेतृत्वको राष्ट्रिय प्रजातान्त्रिक गठबन्धन (एनडिए) ले ५४३ मध्ये २९२ सिटसहित बहुमत ल्याएको छ । जसमा भाजपाको मात्रै २४० सिट छ । तेस्रो पटक प्रधानमन्त्री भएका मोदीको पछिल्ला २ कार्यकालमा भारतको नेपालसँग कहिले कटु सम्बन्ध रह्यो भने कहिले सुमधुर बन्यो । नेपाल र भारतबीच पहिलो पटक सम्बन्धको सुरुवात सन् १९५० मा भएको थियो । नेपालका प्रधानमन्त्री मोहनशमशेर जबरा र भारतीय राजदूतले हस्ताक्षर गरेर सुरु भएको १० बुँदे सन्धिबाट नेपाल–भारत सम्बन्ध सुरुआत भएको थियो ।
कागजमा पहिलो पटक सन् १९५० मा सम्झौता भए पनि प्राचीनकालदेखि नेपाल–भाारतबीच सम्बन्ध रहँदै आएको छ । उही ढंगको सामाजिक संरचना, सांस्कृतिक स्वरूप तथा खुला सीमा नेपाल–भारत सम्बन्धका आयाम प्राचीनकालदेखि नै थिए ।भारत र नेपालबीचको सम्बन्धमा ऐतिहासिक कालदेखि धेरै आरोह र अवरोह हुँदै आएको छ । विभिन्न संकटको समयमा असल छिमेकीका रूपमा भारतको साथ र सहयोग नेपालले पाएको छ भने नेपालको आन्तरिक मामलामा भारतीय चासो रहेको भन्दै नेपाली नागरिकको भारतप्रतिको आक्रोश पनि पटक–पटक देखिएको छ । सन् २०१४ मा पहिलो पटक प्रधानमन्त्री हुनेबित्तिकै छिमेकीलाई पहिलो प्राथमिकता भन्दै मोदीले नेपालको भ्रमण गरेका थिए । त्यसको केही महिनापछि नै नेपालको संविधानमा असहमति राख्दै भारतले नेपालमाथि आर्थिक नाकाबन्दी लगाएको थियो ।
यसबीचमा मोदी नेतृत्वलाई नेपालमा हिन्दुवादी शक्तिलाई सहयोग गरेको भन्ने चर्चा नेपाली नागरिकमा नचलेको होइन । उत्तर प्रदेशका मुख्यमन्त्री तथा मोदीका विश्वासपात्र योगी आदित्यनाथलाई भेट्न नेपाली कांग्रेसका नेताहरू भारत गएको घटना पनि नेपालमा चर्चामा थियो ।

